३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अग्रपंक्तिमा काम गर्ने श्रमिकलाई उचित व्यवस्था गराैं – राष्टपति भण्डारी

प्रकाशित मिति :  १८ बैशाख २०७८, शनिबार ०४:२७


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ का कारण रोजगारी गुमाएका श्रमिकलाई आवश्यक प्रबन्ध मिलाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले महामारीविरुद्ध अग्रपंक्तिमा काम गर्ने श्रमिकहरूलाई धन्यवाद दिनुभएको छ ।

सन्देशमा लेखिएको छ – ‘एकातिर पर्यटन तथा अतिथि सत्कार, निजी शिक्षण संस्था साथै मनोरञ्जन लगायत अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले रोजगारी गुमाउनु परेको छ भने अर्कातिर स्वास्थ्य, सुरक्षा, सफाई, यातायात जस्ता अत्यावश्यक सेवाको क्षेत्रमा काम गर्ने श्रमिकहरू ज्यानलाई जोखिममा राखेर महामारीविरुद्धको अभियानमा अग्रमोर्चामा खटिरहनु परेको छ ।’

महामारीविरुद्ध अग्रपंक्तिमा काम गर्ने श्रमिकहरुको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न आग्रह गर्दै उहाँले रोजगारी गुमाउने श्रमिकहरूको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध गर्न उहाँले सम्बद्ध पक्षको ध्यानआकृष्ट पनि गराउनु भएको छ ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको  शुभकामना व्यक्त गर्दै  राष्ट्रपति भण्डारीले मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकप्रति सम्मान प्रकट गर्नुभएको छ ।

‘श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास लिएको छु’ – सन्देशमा उल्लेख छ । श्रमिक दिवसले रोजगारीको सृजना, श्रमको सम्मान, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा लगायत श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उहाँले गर्नुभएको छ ।

मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक रहेको राष्ट्रपतिले उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ – ‘उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुन्छ, यसका लागि मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नु पर्दछ, समष्टिमा पुँजी र श्रमको सम्मिश्रणबाट आर्जित मुनाफाको न्यायोचित वितरणबाट मात्रै श्रमिकहरूको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने मलाई लाग्छ ।’

मानवअधिकार र लोकतन्त्रका आधारभूत मान्यताहरूलाई संवैधानिक रूपमा नै सुनिश्चितता प्रदान गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा देश अग्रसर बनेको राष्ट्रपतिको भनाइ छ ।

श्रमको सम्मान, सुरक्षित कार्यथलो, सामाजिक सुरक्षा, आफ्नो जीवनलाई प्रभावित पार्ने नीति निर्णयमा सहभागिताका साथै लैंगिक लगायत सबै प्रकारका विभेदको अन्त्य गर्दै सबैका लागि फलदायी रोजगारीको सृजना गर्न सरकार कटिबद्ध रहँदै आएको उहाँले उल्लेख गर्नुभएको छ ।

राष्ट्रपतिले लेख्नुभएको छ – ‘यसका प्रतिफलहरू क्रमशः प्राप्त पनि भइरहेका छन्, यी सार्थक पहलहरूबाट गरिबी उन्मूलनका साथै सामाजिक सुरक्षाको प्रत्याभूतिसहित ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्पलाई सार्थक तुल्याउन सम्भव हुनेछ भन्ने मलाई लागेको छ ।’

कोभिड–१९ को दोस्रो लहरका कारण देशमा पुन संक्रमण बढ्दै गएको हुँदा सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्न र निषेधाज्ञाका नियम कडाइ साथ अवलम्बन गर्न उहाँले सबैलाई आह्वान गर्नुभएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !