३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

श्रमिक तथा मजदूरको तलब बढाउछाैं – प्रम ओली

प्रकाशित मिति :  १८ बैशाख २०७८, शनिबार ०४:२९


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक तथा मजदूरको तलब बढाउने घोषणा गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा शनिबार भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आगामी आर्थिक वर्षदेखि १५ हजार रुपैयाँ पुर्‍याइने बताउनुभयो । प्रधानमन्त्री ओलीले मजदूरको दैनिक पारिश्रमिक पनि ५ सय १७ रुपैयाँबाट बढाएर ५ सय ७७ रुपैयाँ पुर्‍याइने पनि उद्घोष गर्नुभयो ।

सरकारी र निजी क्षेत्रमा कार्यरत कर्मचारीका लागि न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न सरकारले सहजीकरण गरिरहेको जानकारी दिँदै उहाँले आफू नेतृत्वको सरकार श्रमिक र मजदूरसँगै रहेको बताउनुभयो । नेपालमा श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिहरुलाई कम्तिमा १ सय दिनको काम दिने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

तीन वर्षको अवधिमा सरकारले श्रमको क्षेत्रमा धेरै राम्रा र प्रभावकारी काम गरेको उहाँले बताउनुभयो । सरकारले सामाजिक सुरक्षा कोषमार्फत जुनसुकै क्षेत्रमा रहेका श्रमिक कामदारहरुका लागि जीवन पर्यन्त रोजगारीको व्यवस्था गरेको उहाँले बताउनुभयो । देशभित्रका मजदूरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता, स्वास्थ्य बीमा, बैंकमार्फत तलब भत्ता लगायत व्यवस्था गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने पनि उहाँले बताउनुभयो ।

वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको उहाँले बताउनुभयो ।  ‘समृद्ध नेपाल : सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सरकारले श्रमिक र सबै जनताको पक्षमा काम गरिरहेको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो ।

नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको भन्दै उहाँले सीमित साधन स्रोतबीच पनि नागरिकलाई महामारीबाट जोगाउन काम गरिरहेको बताउनुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !