३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रचण्डको सती जानुभयाे उपेन्द्र- लक्ष्मणलाल कर्ण

प्रकाशित मिति :  १८ बैशाख २०७८, शनिबार ०७:२७


काठमाडौं । ‘उपेन्द्र यादवजी माओवादी बन्ने मन भए पार्टी छोड्नुस्’ – जसपा नेता लक्ष्मणलाल कर्णको भनाइ छ ।

यादवका पछिल्ला गतिविधि जसपा फुटाउन र माओवादी बन्न उद्दत रहेका कर्णले बताउनुभयो । यादवको समूहले लुम्बिनी प्रदेश सभामा गरेको चलखेलबाटै यो प्रष्ट भएको नेता कर्णको भनाइ छ ।

केन्द्रको निर्णय विपरित लुम्बिनी प्रदेश सभामा जसपाबाट प्रतिनिधित्व गर्ने चार सांसद्लाई उपेन्द्र समूहले पदमुक्तका लागि सिफारिस गरेको थियो । सोही कीर्ते सिफारिसका आधारमा लुम्बिनीका सभामुखले चार सांसद् पदमुक्त भएको सूचना वैशाख १६ गते सार्वजनिक गर्नुभएको थियो । सो सिफारिस गैरकानुनी भएको भन्दै सोही दिन नै जसपा अध्यक्ष महन्थ ठाकुरले लुम्बिनीका सभामुखलाई पत्र पठाउनुभएको थियो । ठाकुरले निर्णय कार्यान्वयन नगर्न भन्दै शुक्रबार निर्वाचन आयोगमा निवेदन समेत दिनुभएको छ ।

नेता कर्णले उपेन्द्र समूहको कीर्ते हर्कतको विरोध गर्नुभएको हो । ‘राजनीतिक दल सम्बन्धी ऐन अनुसार पाँच वर्षसम्म जसपा विभाजन हुन सक्दैन, उपेन्द्रजीहरुलाई जानै मन लागेको हो भने बाटो खुला छ, नयाँ पार्टी खोलेर प्रचण्डसँग गए हुन्छ’– कर्णको भनाइ छ ।

प्रचण्ड र डा. बाबुराम भट्टराईका कारण जसपा लुम्बिनीमा किचलो देखिएको कर्णले बताउनुभयो । उपेन्द्र यादव आफैंले यस्तो कुरा सोच्न नसक्ने बताउँदै कर्णले भन्नुभयो – ‘लुम्बिनीमा प्रचण्डको स्पष्ट सहभागिता छ, प्रचण्डको सहयोगबिना सभामुखले त्यस्तो काम गर्न सक्छ ? उपेन्द्रजी त प्रचण्डको प्याड बन्नुभयो ।’

उपेन्द्र यादव प्रचण्डबाट निर्देशित मान्छे भएको पनि लक्ष्मणलालले बताउनुभयो । पार्टी र पार्टीका प्रथम अध्यक्ष महन्थ ठाकुरको आँखा छलेर प्रचण्डकै निर्देशनमा उपेन्द्रले जसपा लुम्बिनी भाड्नुभएको कर्णले बताउनुभयो ।

प्रचण्डको सती उपेन्द्र जानुभएको बताउँदै कर्णले भन्नुभयो – ‘उपेन्द्रजीले लुम्बिनीमा त्यस्तो गर्नु नै थियो भने पनि बैठक बोलाएर बहुमतको निर्णय गरेर गर्न सक्नुहुन्थ्यो, तर त्यसो गर्नुभएन, उहाँ प्रचण्डबाट निर्देशित मान्छे हो ।’

प्रचण्ड र बाबुरामको पछाडी लागेपछि उपेन्द्रले मधेसका मुद्दा र माग बिर्सनुभएको कर्णले बताउनुभयो । उहाँले भन्नुभयो – ‘उपेन्द्रजी हामीसँगै मधेसको आन्दोलनबाट आएको मान्छे हो, बाबुराम हिजो हामीसँग मिलेको मान्छे हो, तर बाबुरामको पछि लागेर उपेन्द्रजीले मधेसका मुद्दा र मागहरु भुल्नुभएको छ ।’

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !