४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडाैं-भद्रपुर रुटकाे भाडादर आज सम्मकै सस्ताे

प्रकाशित मिति :  १८ बैशाख २०७८, शनिबार १२:१९


झापा । झापाको भद्रपुरबाट काठमाडौंसम्मको हवाई उडानको भाडादर सस्तो भएको छ ।

अनिमेष ट्राभल्सका सञ्चालक गोपाल खनालका अनुसार आजको भद्रपुर–काठमाडौं उडानको प्रतियात्रु न्यूनतम् भाडा बुद्ध एयरले एक हजार पाँच सय रुपैयाँ, यति एयरले एक हजार तीन सय ९५ रुपैयाँ, सौर्य एयरले एक हजार चार सय रुपैयाँ र श्री एयरले एक हजार चार सय रुपैयाँ तोकेको छ ।

कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण उच्च विन्दुमा पुगिरहेको बेला भद्रपुरबाट राजधानी जाने यात्रु घटेका कारण भाडादर अहिलेसम्मकै कम भएको हो ।

सामान्यतया भद्रपुर–काठमाडौंको भाडादर न्यूनतम् तीन हजार रुपैयाँ रहने गरेको छ । ‘कोरोनाको संक्रमणको त्रास बढेका कारण राजधानी जाने क्रम ह्वात्तै घटेको छ’, खनालले भन्नुभयो, ‘काठमाडौंबाट आउनेहरुको भने चाप बढेको छ ।’ काठमाडौंबाट भद्रपुर आउँदाको हवाई भाडादर बढेर चार हजार रुपैयाँदेखि नौ हजार दुई सय ५० रुपैयाँ सम्म पुगेको छ ।

भद्रपुरको चन्द्रगढी विमानस्थल २०२८ सालमा स्थापना भएको हो । तर २०३० सालमा आन्तरिक कारणबाट विमानस्थल बन्द भयो । त्यसपछि एकैचोटि २०४८ साल चैत १८ गते मात्र विमानस्थल खुलेको थियो । २०४८ सालमा विमानस्थल खुलेको पहिलो दिन आफूले नै एक हजार सात सय ८० रुपैयाँमा शाही नेपाल वायु सेवा निगमको जहाजको टिकट काटेको स्मरण गर्दै अनिमेष ट्राभल्सका सञ्चालक खनालले भन्नुभयो, ‘भद्रपुर–काठमाडौं रुटको आजको भाडादर इतिहासमै सबैभन्दा सस्तो हो ।’

कोभिड–१९ को महामारी र निषेधाज्ञाको अवस्थाका कारण यात्रु घटेको जनाउँदै एयरलायन्सहरुले हवाई उडानसमेत कटौती गर्न थालेका छन् ।

शुक्रबारदेखि भद्रपुर–काठमाडौं रुटमा बुद्ध एयरले दैनिक पाँच उडानमध्ये दुई उडान कटौती गरिसकेको छ । यति एयरले तीन उडानमध्ये एउटा कटौती गरेको छ । श्रीएयरका दुई र सौर्य एयरको दैनिक एक उडान कायमै छ ।

यसअघि हरेक दशैँ–तिहारका बेला काठमाडौंबाट आउने यात्रु अत्यधिक हुने तर जाने यात्रु घट्ने भएका कारण हवाई सेवा प्रदायक कम्पनीहरुले भद्रपुर–काठमाडौंको भाडादर घटाएर एक हजार ६ सय सम्म पुर्‍याउने गरेका थिए ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !