४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कैलालीमा काेभिडले उग्ररुप लिदैँ

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ०४:४२


टीकापुर । कैलाली जिल्लामा कोभिड संक्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयाभव बन्दै गएको छ ।

संक्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबार १० जनाले ज्यान गुएक छन् । कैलालीका दुई महिला र एक पुरुष गरी तीन जनाको ज्यान गएको छ । यस्तै  कञ्चनपुरका पाँच पुरुष र एक महिला गरी छ जनाको ज्यान गएको छ भने बझाङका एक जना पुरुषको ज्यान गएको स्वास्थ्य निर्देशनालय दिपायलले जानकारी दिएको छ । सुदूरपश्चिममा दैनिक कोभिड संक्रमित सयौं थपिन थालेका छन् ।

सुदूरपश्चिममा शनिबार थप दुई सय ४१ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पाँच ५२ नमूना परीक्षण गर्दा दुई सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार संक्रमण मध्ये कैलालीको धनगढीका मात्रै एक सय १३ जना रहेका छन् । यस्तै धनगढीबाहेक कैलालीका अन्य पालिकाका ९१ र अन्य जिल्लाका ३७ जनामा संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोभिड संक्रमितको संख्या १८ हजार सात सय १५ पुगेको छ । प्रदेशमा कोभिडका १०० जनाले ज्यान गुमाएका छन् । सक्रिय संक्रमितको संख्या तीन हजारभन्दा बढी रहेको बताइएको छ । तीमध्ये सेती अस्पतालमा ५९ संक्रमितको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये तीन जना भेन्टिलेटरमा, १७ आइसीयूमा र ३४ अक्सिजन सपोर्टमा उपचाररत छन् ।

यता टीकापुर अस्पतालमा संक्रमित र लक्षण देखिएका नौ जनाको उपचार भइरहेको छ । उपचाररत रहेका पाँच कोरोना संक्रमित र चार परीक्षणको नतिजा आउन बाँकी रहेकाहरुको उपचार भइरहेको अस्पतालले जनाएको छ । उपचार भइरहेकामध्ये छ जनामा अक्सिजनको कमी भई अवस्था गम्भीर रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । टीकापुर अस्पतालमा दैनिक १० देखि २० जनासम्म कोभिड लक्षण भएकाहरु उपचारमा आउने गरेका डा. रमेश उपाध्यायले जानकारी दिनुभयो । ‘लक्षण देखिएका तर जटिल समस्या नभएकालाई होम आइसोलेशनमा बस्न भनेका छौं’, जटिल समस्या भएका, श्वासप्रश्वासमा समस्या भई अक्सिजन कमी भएकालाई यहाँ अक्सिजन दिई उपचार गरिरहेका छौं’, डा उपाध्याय भन्नुहुन्छ, ‘कोरोना लक्षण देखिएका सबैलाई अस्पतालमा राखेर उपचार गर्न सम्भव छैन ।’

टीकापुर अस्पतालमा जनशक्ति अभाव भएकाले अस्पतालले कर्मचारी भर्नाका लागि सूचनासमेत गरेको छ । अस्पतालले दुई चिकित्सक, १५ स्टाफ नर्स, दुई हेल्थ असिस्टेन्ट र पाँच अनमी र अहेवका लागि दरखास्त खोलेको छ ।

बालबालिका जोखिममा

कोभिड संक्रमण तीव्ररूपमा फैलिँदै गएपछि बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा पर्ने भएकाले सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । समुदायस्तरमै कोरोना फैलिँदै जाँदा बालबालिकलाई संक्रमणबाट जोगाउन टीकापुर अस्पतालका बालरोग विशेषज्ञ अमरनाथ ठाकुरले बताउनुभयो । ‘यो समय भाइरल ज्वरो, रुघाखोकीको समय पनि हो । बालबालिकामा सामान्य समस्या देखिँदैमा आत्तिन हुँदैन’, डा. ठाकुरले भन्नुभयो, ‘बालबालिकामा श्वासप्रश्वासमा समस्या भयो, निमोनियाका लक्षण देखिएमा अस्पताल लैजानुपर्छ । सामान्य रुघाखोकी, ज्वरो भए दुई-तीन दिनमा आराम हुन्छ ।’

कैलालीमा निषेधाज्ञा लम्ब्याइयो

कोभिड संक्रमण समुदायस्तरमै फैलिएकाले कैलालीमा जारी निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)को शनिबार बसेको बैठकले वैशाख ३० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो । यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म हुने गरी निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको समयमा सबै बैंक तथा वित्तीय संस्थाले वैैशाख २० देखि ३० गतेसम्म बिहान ९ देखि साढे ११ बजेसम्म मात्र एउटा बैंकको एउटा मात्र शाखा खुला गर्न पाउने व्यवस्था गरिएको छ ।

एकतिर कोभिड संक्रमण फैलँदैछ भने अर्कोतर्फ भारतबाट नेपाल फर्कने नेपालीको संख्यासमेत बढ्दै गएको छ । भारतबाट नेपाल फर्कने नेपाली सिधै गाउँ पस्ने गरेका कारण समुदायमा थप जोखिम बढाएको छ । सुदूरपश्चिमका नाकामा कोरोना परीक्षण गर्ने एन्टिजेन किट अभाव हुन थालेको छ । प्रदेशका सीमा नाकामा भारतबाट फर्किने नेपालीको सङ्ख्या बढिरहेका बेला एन्टिजेन किटको अभाव हुन थालेकाले थप जोखिम बढेको हो ।

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका कञ्चनपुरको गड्डाचौकी र गौरीफण्टा नाका, बैतडीको झुलाघाट नाका र दार्चुलाको पुलघाट नाकाबाट दैनिक दुई हजारदेखि दुई हजार ५०० को संख्यामा नेपाली सुदूरपश्चिम भित्रिरहेका छन् । तीमध्ये थोरै संख्या मात्र परीक्षण हुने गरेको छ ।

गौरीफण्टा नाकाबाट दैनिक झण्डै एक हजार भित्रिए पनि १०० देखि एक सय ५० जनासम्मको मात्र कोरोना परीक्षण हुने गरेको छ । किट अभावका कारण आवश्यकतानुसार कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताउनुभयो । कोभिड संक्रमितको उपचार गर्न सक्ने अवस्था नभएपछि कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने तयारी शुरु भएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आजदेखि उक्त स्थानमा आवश्यक संरचना व्यवस्थापनका लागि तयारी थालिने जानकारी दिनुभयो ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !