४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भरतपुरमा आइसोलेसन केन्द्र बन्दै

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ०५:११


भरतपुर । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।

चितवनबाट प्रतिनिधित्व गर्ने वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहितको टोलीले शनिबार भरतपुरको वागीश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय र शारदानगर हेल्थ पोष्टको स्थलगत अध्ययन गरेका हुन् । टोलीले सो क्षेत्रमा स्थलगत अध्ययन गरी वागीश्वरीमा सय शय्याको र शारदानगर हेल्थपोष्टमा ३० शय्याको आइसोलेसन केन्द्र बनाउने तयारी थालेको हो ।

प्रदेशसभा सदस्य सुवेदीले योग तथा प्राकृतिक चिकित्सालय र शारदानगर हेल्थ पोष्ट प्रशासनलाई तत्काल आइसोलेसन केन्द्र बनाउन के–कति खर्च लाग्छ योजनासहित पेश गर्न निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, ‘आइसोलेसन केन्द्रका लागि भरतपुर महानगरपालिका, प्रदेश सरकार र संघिय सरकारको सहयोग रहनेछ ।

भरतपुरमा कोरोनाको संक्रमण फैलिएर महामारीको रूपमा फैलिनसक्ने भएकाले पनि आइसोलेसन जरुरी छ ।’ उहाँले अस्पतालहरु भरिन थालेपछि अक्सिजनसहितको आइसोलेसनको जरुरी परेको बताउनुभयो ।

पत्रकार महासंघ चितवनको हेल्प डेस्क 

चितवनमा बढ्दो कोरोना संक्रमण र निषेधाज्ञाको घोषणासँगै नेपाल पत्रकार महासंघ चितवनले हेल्प डेस्क (सहायता कक्ष) स्थापना गरेको छ । नेपाल पत्रकार महासंघ चितवनले कोरोना महामारीको समयमा चितवनका पत्रकारलाई केही समस्या परेमा तत्काल समाधानका लागि सो डेस्क स्थापना गरेको जनाएको छ ।

पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीका अनुसार महासंघ सचिव दीपेन्द्र अधिकारीको संयोजकत्वमा गठित डेस्कको सदस्यमा सहसचिव उर्गेन तामाङ र विप्लव काफ्ले रहनुभएको छ । पत्रकारलाई कुनै समस्या परेमा संयोजक अधिकारी वा सदस्यद्वयलाई तत्काल सम्पर्क गर्नसमेत महासंघ चितवनले आग्रह गरेको छ ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारवाही

दोस्रो लहरमा फैलिएको कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि चितवनमा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारवाही गरिँदैछ । यहाँ निषेधाज्ञा उल्लंघन गर्ने दुई हजार पाँच सय ८२ मानिस तथा आठ सय ४१ वटा सवारी साधनलाई कारवाही गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले शनिबार दिनभरमा सो सङ्ख्यामा कारवाही गरिएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइहरुबाट कारवाही गरिएको गिरीको भनाइ छ । कारवाहीबाट ७२ हजार नाै सय रुपैैयाँ जरिवाना असुल गरिएको भन्दै गिरीले सो अवसरमा ५० थान मास्कसमेत वितरण गरिएको जानकारी दिनुभयो ।

निषेधाज्ञामा तोकिएकाबाहेकका सवारी चलाउनेलाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १६ गते रातिदेखि ३१ गते रातिसम्म निषेधाज्ञा जारी गरेको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !