३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चन्द्रागिरिमा ‘आइसोलेशन सेन्टर’ बन्ने

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ०६:१४


काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि अस्पताल थानकोटमा ‘आइसोलेशन सेन्टर’ बनाउने भएकाे छ ।

काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले नयाँ भेरियन्टसहित दोस्रो चरणको काेभिड बढेसँगै चन्द्रागिरि नगरपालिका–४ मा रहेको चन्द्रागिरि अस्पताल थानकोटमा आइसोलेशन सेन्टर निर्माणको तयारी थालेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरस्तरीय अस्पतालका रुपमा रहेको चन्द्रागिरि अस्पताल थानकोट र मनमोहन अस्पताल दहचोकमा आइसोलेशन सेन्टर निर्माण गर्न लागेको राससलाई जानकारी दिनुभयो ।

‘चन्द्रागिरि अस्पतालमा २० र मनमोहन अस्पतालमा तीन सय भन्दा बढी कोरोना संक्रमितको उपचार गर्न सकिन्छ’, उहाँले भन्नुभयो । यस्तै, चन्द्रागिरिले सशस्त्र प्रहरी बलको बलम्बुमा रहेको अस्पतालमा समेत कोरोना संक्रमितको उपचार गर्ने जनाएको छ ।

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिमा १५ वडा रहेका छन् । चन्द्रागिरि नगरपालिकामा नगर अस्पतालबाहेक १६ स्वास्थ्य संस्था रहेका छन् । १५ वडामा १५ स्वास्थ्य संस्था र वडा नं १० मा थप एक स्वास्थ्य संस्था रहेको नगर प्रवक्ता महर्जनले बताउनुभयो ।

चन्द्रागिरिले कोरोना संक्रमण चेकजाँचका लागि आवश्यक पर्ने पल्स अक्सिमिटर र अक्सिजन प्रत्येक वडाका स्वास्थ्य संस्थामा  पुर्‍याउने लक्ष्य राखेको छ । कोरोना संक्रमित बिरामीलाई अस्पतालसम्म लैजानका लागि चन्द्रागिरिले नगरस्तरीय एम्बुलेन्सको प्रयोग गर्ने जनाएको छ । उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा नगरपालिकामा सञ्चालनका लागि एम्बुलेन्स खरीद गरेको थियो ।

चन्द्रागिरिमा हालसम्म दुई हजार दुई सय ८३ कोरोना संक्रमित भेटिएका छन् । यसमध्ये दुई हजार ६५ सङ्क्रमित निको भएर घर फर्किसकेका छन् भने एक सय ७४ होम आइसोलेशन र १८ जना अस्पताल आइसोलेशनमा रहेका छन् ।

हालसम्म कोरोना संक्रणका कारण चन्द्रागिरिमा २६ जनाले ज्यान गुमाइसकेका छन् ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !