३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेराेना त्रासमा यार्सा संकलन सुरु

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ०७:५२


बझाङ । काेभिड महामारीबीच  यार्सा संकलन गर्न लेकतिर जानेको घुइँचो लाग्न थालेको छ ।

साइपाल, तलकोट, सुर्मा, मष्टा, छबीस पाथीभेरा गाउँपालिका र बुंगल नगरपालिकाका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा तथा जडिबुटी नै रहेको छ । यार्सा संकलनको याम सुरु भएसँगै  अधिकांश स्थानीयवासी लेकतिर जान थालेका हुन् ।

उत्तरी भेगमा खाद्यान्न कम उत्पादन हुने र आय स्रोतका अन्य माध्यम नहुँदा यार्सा र जडीबुटी संकलन नै मुख्य आयस्रोतको आधार रहेको छ । यस क्षेत्रका बासिन्दा परिवारसहित यार्सा संकलनका लागि घरमा ताला लगाएर वैशाखदेखि असार मसान्तसम्म लेकतिर जान्छन् ।

गत वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले यार्सागुम्बा पाइने पाटनमा संकलकको भीड हुने र कोरोनाको संक्रमण फैलिने खतरा भएपछि जोखिम न्यूनीकरणका लागि संकलनमा रोक लगाएको थियो । स्थानीय तहले पनि यार्सा संकलनमा रोक लगाएको थियो ।

यस वर्ष भने कुनै सूचना जारी गरिएको छैन । जिल्लामा दिन प्रतिदिन सङ्क्रमित बढ्दै गए पनि  कुनै निकायको ध्यान गएको छैन । यार्सा संकलन गरिने पाटनमा हिउँ पग्लिन  थालेपछि संकलक वन क्षेत्रमा जाने क्रम बढेको बुंगाल –२ का आनन्द धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही वर्षयता यार्सा खासै पाइँदैन  । गत वर्ष कोरोना महामारीका कारण भएको बन्दाबन्दीले संकलनको काम प्रभावित भयो । यार्सा संकलन गर्न नपाउँदा रोजीरोटी खोसियो । यस वर्ष यार्साको उत्पादन राम्रो हुने देखिएपछि लेकतिर जानेको घुइँचो लाग्न थालेको छ ।’

बुंगालका धौलाढुंगा, चुफी, कालीगाड, छरछरे, जलजला, निलखट्टी, ठाडे  सुर्मा तथा साइपाल गाउँपालिकाका जलजला, डाँफेचुली, तपोवन, डाँडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुंगा, माझा, फरालखेत, कालापानी, राइढुङ्गी, स्याङ्वनलगायत वन क्षेत्रमा संकलक पुगिसकेका छन् ।

साइपाल –४ का वसन्त बोहराले भन्नुभयो, ‘रोजगारी केही छैन । आयआर्जन गर्ने माध्यम नै यार्सागुम्बा र जडिबुटी हो ।  गत वर्ष लकडाउनका कारण वन क्षेत्र बन्द हुँदा संकलन गर्न सकिएन । घर खर्च चलाउन धौधौ भयो । यार्साबाट मात्रै एक परिवारले तीन महिनाका अवधिमा तीन लाख रुपैयाँ देखि सात लाख रुपैयाँ जति आम्दानी गर्छ । यार्सा तथा जडिबुटी संकलन नगरे भोकमरीको चपेटामा परिन्छ ।’

वैशाखदेखि असारसम्म यार्सा संकलनका लागि र भदौदेखि मंसिरसम्म यहाँका जंगलमा अन्य जडिबुटी खोज्न मानिस लेकतिर जान्छन् । केही वर्षयता यार्सा तथा अन्य जडीबुटी संकलन गर्न लेकतिर जानेहरु बढ्दै गएका छन् । यस समयमा बझाङ र अन्य जिल्लाबाट आएका मानिसले विभिन्न पाटनमा करीब १५ हजार पाल हाल्छन् । हरेक वर्ष बझाङमा यार्सा संकलनका लागि मात्रै ४८ हजारभन्दा बढी मानिस लेकतिर जाने गर्छन् ।

ग्रामीण भेगमा कोरोनाको उच्च जोखिम भएकै बेला हजारौँ मानिस लेकतिर जाँदा झन् जोखिम हुने देखिन्छ । जंगलमा सबै एकै ठाउँ नहुने र संकलन गर्दा अलगअलग जानु पर्ने भएका कारण कोरोनाको जोखिम भने कम हुने संकलक बताउँछन् ।

कोरोनाको संक्रमणबाट बच्न गत वर्ष  पाटन बन्द गरिए पनि संकलकले लुकिछिपी यार्सा संकलन गरेका थिए । गत वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले वन बन्द गर्न भनेकाले संकलनमा रोक लगाइए पनि यस वर्ष संकलन रोक्ने नरोक्नेबारे कुनै जानकारी नआएको डिभिजन वन कार्यालय बझाङका कार्यालय प्रमुख कर्णबहादुर खातीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो जिल्लामा अहिले यार्सा संकलन गर्ने सिजन नै हो । विभागबाट कुनै पत्राचार भएको छैन । सरकारले पनि यसबारेमा कुनै निर्णय गरेको छैन । विभागको निर्देशनअनुसार संकलन कार्यमा रोक लगाइने छ ।’

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !