२६ पुष २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मुख्यमन्त्रीकाे निर्देशनमा अक्सिजन प्लान्ट संचालन

प्रकाशित मिति :  २० बैशाख २०७८, सोमबार ०६:१२


कर्णाली । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा अक्सिजन प्लान्ट संचालन भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लामो समयदेखि जडान भई थन्किएको अक्सिजन प्लान्ट आइतबारदेखि संचालनमा आएको छ ।

मुख्यमन्त्री शाही तथा सत्ता साझेदार दल नेपाली कांग्रेस प्रदेशसभा दल नेता जीवनबहादुर शाहीसहितको टोलीले आइतबार त्यहाँ पुगेर अक्सिजन प्लान्ट संचालनमा ल्याएको हो ।

तीन दिनअघि मुख्यमन्त्री शाहीसहित आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले प्रदेश अस्पतालको स्थलगत अनुगमन गर्नुका साथै कोरोना संक्रमितको अवस्था अध्ययन, आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापनका बारेमा अस्पताल निर्देशक प्रा डा. डम्बर खड्का र कोरोना सम्पर्क व्यक्ति डा. केएन पौडेलसँग जानकारी लिनुभएको थियो ।

खासगरी पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमणले संक्रमितको संख्या बढ्दै गएको र त्यसमा श्वासप्रश्वासका बिरामीको जीवन बढी खतरामा रहेको भन्दै मुख्यमन्त्री शाही आफैँ प्रदेश अस्पताल पुगेर अक्सिजन प्लान्ट सञ्चालनमा सघाउनुभयो ।

सामाजिक विकासमन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री, नेपाली सेनाका पृतनापति, सामाजिक विकास सचिव, सशस्त्र तथा नेपाल प्रहरी कर्णाली प्रदेश प्रमुखसहितको टोलीले स्थलगत गर्नुका साथै प्लान्ट संचालनमा सहजीकरण गरेको थियो ।

आइतबारदेखि नै कोभिड अस्पतालको आइसोलेसन कक्षमा अक्सिजन आपूर्ति गरिएको बताइएको छ । अस्पताल निर्देशक प्रा डा. खड्काका अनुसारका अक्सिजन उत्पादनका साथै अबको केही दिनमा सिलिण्डर नै रिफिलिङ हुने गरी काम भइरहेको छ ।

यसो हुन सकेमात्र श्वासप्रश्वासका बिरामीलाई राहत हुने अस्पतालले जनाएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !