४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमबिबिएस नहुँदा आइसोलेशन सञ्चालनमा समस्या

प्रकाशित मिति :  २० बैशाख २०७८, सोमबार ०६:२८


धनगढी । कैलालीको घोडाघोडी नगरपालिकालाई एमबिबिएस डक्टर नहुँदा अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न समस्या भएको छ ।

नगरपालीकाद्वारा यसअघि एमबिबिएस डक्टरमार्फत गाउँबाटै सेवा दिने भनिए पनि अहिलेसम्म  पदपूर्ति  हुन नसक्दा समस्या भएको हो ।

पाँच शय्याको कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न परिपत्र गर्दै आर्थिक वर्षको सुरुमै संघिय सरकारले १० लाख रुपैयाँ पठाए पनि चिकित्सकका अभावले उक्त कार्य पूर्ण हुन नसकेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

यस अघि नगरपालिकाले चिकित्सक पदपूर्तिका लागि गरेको विज्ञापनमा एक जनाको मात्रै निवेदन परेकामा उक्त व्यक्ति  अन्तर्वार्तामा नआउँदा पदपूर्ति हुन नसकेको  जनाइएको छ ।

सिंहले चिकित्सक नभएको र आइसोलेशन सञ्चालन गर्ने अधिकार नगरपालिकालाई नभएकाले पूर्ण रूपमा तयार रहँदारहँदै पनि अहिले सञ्चालन हुन नसकेको स्पष्ट गर्नुभयो । उहाँका अनुसार घोडाघोडी –३मा रहेको दरख स्वास्थ्यचौकीमा स्थापना गरिएको कोभिड अस्पतालमा १० शय्याको आइसोलेशन सञ्चालन गर्ने भनिए पनि चिकित्सकको विज्ञापनपछि निवेदक नै अन्तर्वार्तामा उपस्थित भएनन् ।

अहिले जटिल प्रकृतिका सङ्क्रमित सम्पर्कमा आउँदा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाउनुपर्ने बाध्यता छ ।

नगरपालिकाले एक चिकित्सक, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगीको पदपूर्तिका लागि गरेको विज्ञापनमध्ये अन्यको भने पदपूर्ति भएको र चिकित्सक  ल्याइने प्रयास जारी रहेको  सिंहले जानकारी दिनुभयो ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !