एमाले स्थायी कमिटी बैठक: सरकारले लिने विश्वासको मतका बारेमा छलफल
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक केहीबेर अघि सकिएको छ ।
बैठकमा राष्ट्रिय सभामा पार्टीको तर्फबाट उम्मेदवार बनाउने विषय र सरकारले लिने विश्वासको मतका बारेमा छलफल भएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
राष्ट्यि सभा निर्वाचनमा नेकपा एमालको उम्मदवारको जित सुनिश्चित हुने गरी छलफल अघि बढाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो । ‘उम्मेदवारको बारेमा हामी छिट्टै निर्णय गर्नेछौँ’, उहाँले भन्नुभयो ।
सरकारले विश्वासको मत लिने विषयमा पनि बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभयो । विश्वासको मत प्राप्त गर्ने गरी विभिन्न पक्षसँग छलफल भइरहेको र छलफललाई निरन्तरता दिने निर्णय भएको उहाँले बताउनुभयो ।
वाग्मती प्रदेशबाट राष्ट्रिय सभाको एकजना सदस्यको लागि निर्वाचन हुँदै छ । जेठ ६ गते हुने सो निर्वाचनको लागि रामबहादुर थापा बादललाई एमालेले उम्मेदवार बनाउने बताउँदै आएको छ ।
त्यस्तै सरकारले विश्वासको मत लिन वैशाख २७ गते प्रतिनिधि सभा बैठक बोलाइएको छ । तीनै विषयमा छलफल गर्न आज एमाले स्थायी कमिटी बैठक बसेको हो ।
-आइएनए न्युज एजेन्सी