२२ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

म्याग्दी कोरोला यातायातले संक्रमित बिरामी निःशुल्क बोक्ने

प्रकाशित मिति :  २४ बैशाख २०७८, शुक्रबार ०६:२७


काठमाडौं । कोभिड महामारीसँग जुध्न निजी क्षेत्रले पनि सहयोगी भूमिका निर्वाह गर्न सुरु गरेका छन् ।

म्याग्दी र पोखराबाट काठमाडौं चल्ने म्याग्दी कोरोला यातायातले आफ्ना बसहरु बिरामी बोक्ने प्रयोजनका लागि निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

कम्पनीका अध्यक्ष सुरत केसीले ठूलो समूहमा कोभिडका बिरामीलाई एकठाउँबाट अर्को ठाउँमा सार्नु पर्यो वा अस्पतालबाट एकै पटक ठूलो संख्यामा मानिसहरु डिस्चार्ज हुँदा घर पुर्याउनु पर्यो भने निः शुल्क रुपमा गाडी प्रयोग गर्नसक्ने जानकारी स्थानीय प्रशासनलाई गराएको बताउनुभयो । ड्राइभरले पीपीई लगाई दुरी कायम गरेर बिरामी बोक्न पर्ने अवस्था आयो भने पनि चालक र गाडी निःशुल्क रुपमा उपलब्ध गराउने उहाँले बताउनुभयो ।

म्याग्दी लगायतका पहाडी जिल्लाका धेरै कोभिड संक्रमित उपचारको क्रममा पोखरा रहेकाले उनीहरु डिस्चार्ज हुँदा घरसम्म ल्याउन र बिरामी लैजान पनि गाडी प्रयोग गर्न सकिने उहाँको भनाइ छ । ‘हामीसँग ११ वटा बस छन्, ती मध्ये पोखरामा तीनवटा छन्, बाँकी बेनीमा छन्, दुवै ठाउँबाट बिरामी ओसारपसार गर्नुपर्यो भने हाम्रा बस प्रयोग गर्न सकिन्छ भनेर प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएका छौँ’, केसीले भन्नुभयो ।

कम्पनीका सञ्चालक सदस्य भिमशेन केसीले ठूला बस मात्र भएकोले बस जान सक्ने ठाउँमा बिरामी ल्याउन र लैजान बस पठाउने निर्णय भएको बताउनुभयो । ‘अहिले एम्बुलेन्सको समस्या भएकोले गाडी प्रयोग गर्न दिने निर्णय हामीले गरेका छौँ, मूलतः जिल्ला भित्रलाई प्राथमिकतामा राखेका छौँ, तर अप्ठेरो परेको अवस्थमा पोखरा र काठमाडौंसम्म गाडी पठाउन सक्छौँ’, उहाँले भन्नुभयो ।

यातायात बन्द भएको अवस्थामा बसहरु त्यतिकै बसिरहेकाले मानवीय सेवामा प्रयोग गर्ने निर्णय भएका उहाँले जानकारी दिनुभयो । ‘बस त्यत्तिकै बसेका छन्, अप्ठेरोमा किन सहयोग नगर्ने भनेर यस्तो निर्णय गरेका हौँ’, उहाँले भन्नुभयो ।
-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !