१९ फाल्गुन २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

समाजलाई सकारात्मक सन्देश दिनुस्- मन्त्री गुरुङ

प्रकाशित मिति :  7 May, 2021 11:03 am


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले समाजलाई सकारात्मक सन्देश दिने समाचार उत्पादन र सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभएको छ ।

मानिसलाई निराश र मनोबल कमजोर बनाउने समाचार होइन उत्साहित बनाउने समाचार उत्पादन र सम्प्रेषण गर्न उहाँले आग्रह गर्नुभयो । छैठौँ राष्ट्रिय पत्रकार दिवसको अवसरमा बोल्दै मन्त्री गुरुङले भन्नुभयो–‘पत्रकार भनेको जे गरेपनि हुन्छ, जसो गरे पनि हुन्छ भन्ने स्थितिबाट फरक गराउनुपर्छ, राज्यले भोलि सेवा सुविधा दिँदा पनि त्यो हिसाबले सेवा सुविधाका व्यवस्थापन गर्नुपर्छ ।’

उहाँले अनलाइनको नविकरण र प्रेस कार्डको नविकरण अनलाइनबाटै गर्ने व्यवस्था मिलाउने बताउनुभयो । पत्रकारले सूचना विभागमा गएर दुःख पायौँ भन्ने दिनको अन्त्य गरिने उहाँले बताउनुभयो ।

उहाँले पत्रकार र पत्रकारीता क्षेत्रमा राज्यले लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पत्रकार र पत्रकारीतामा राज्यले लागानी गरेमात्र पत्रकारीताबाट गुणस्तरीय उत्पादन हात पर्ने उहाँले बताउनुभयो । पत्रकारको समस्यालाई सम्बोधन गर्न सरकार सहयोग र सहकार्य गरी अघि बढ्ने गुरुङको भनाइ छ ।

कोभिड महामारीमा नेपाल सरकारले जारी गरेको आदेश, अपिल र अनुरोधको पालना गर्न पनि उहाँले सबैमा आग्रह गर्नुभयो । ’राज्य संवदनशील छ, जिम्मेवार छ’, उहाँले भन्नुभयो ।

अक्सिजनको समस्या समाधान गर्नको लागि सरकारले पहल कदमी सुरु गरेको पनि उहाँले जानकारी दिनुभयो । औषधीको अभावलाई पूरा गर्न स्वास्थ्य मन्त्रालय र औषधी व्यवस्था विभागको ध्यानाकर्षण गराउने उहाँले बताउनुभयो ।

काठमाडौंमा विभिन्न ठूला कोभिड अस्पताल बनाउने काम भइरहेको उहाँले बताउनुभयो । अहिले लकडाउनको बेलामा विगतको जस्तो नागरिकले दुःख नपाएको गुरुङको भनाइ छ । किसानको उत्पादनलाई बजारसम्म पुर्याउने तथा काठमाडौंबाट घर जान चाहनेलाई आवश्यक व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

कोभिडमा हिजो र आजको मागमा फरक आएको उहाँले बताउनुभयो । यस पटक अक्सिजनको माग बढी भएकोले केही अभाव देखिएको भए पनि त्यसलाई तत्काल व्यवस्थापन गर्ने उहाँले बताउनुभयो । उहाँले केही समय धैर्यता गर्न पनि नागरिकलाई आग्रह गर्नुभयो ।

कोभिडको संघर्षबाट विजय प्राप्त गर्नका लागि खोज र अनुसन्धानमूलक समाचार  लेख्न पनि उहाँले अपिल गर्नुभयो । कोभिडको विरुद्ध सामूहिक लडाईंको आवश्यकता रहेको मन्त्री गुरुङले बताउनुभयो ।

दिवसको अवसरमा विभिन्न विधाको पत्रकारिता पुरस्कार समेत घोषणा गरिएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !