३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अब कुनै अवस्थामा पनि बैठक स्थगित हुँदैन- सभामुख नेत्रनाथ अधिकारी

प्रकाशित मिति :  २५ बैशाख २०७८, शनिबार ०७:४६


काठमाडौं । ‘त्यो दिन पियारी थापाले भनेकोले मैले बैठक स्थगित गरेको हुँ, अब कुनै अवस्थामा पनि बैठक स्थगित हुँदैन’– गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले भन्नुभयो ।

गत वैशाख १५ गते गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमा मतदान गर्ने समय भएको थियो । राष्ट्रिय जनमोर्चाका सांसद् खिमविक्रम शाही बैठकमा उपस्थित नभएपछि सो दलकी सांसद् पियारी थापाले शाही वेपत्ता भएकोले उहाँको पत्तो नलागेसम्म संसद् बैठक स्थगित गर्न माग गरी सभामुखलाई पत्र बुझाउनुभयो ।

सभामुख अधिकारीलाई बैठक रोक्न के निऊँ पाऊँ भइरहेको थियो । माओवादी केन्द्रबाट सभामुख बन्नुभएका अधिकारी पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एमाले सरकार ढाल्न चाहनुहुन्थ्यो । शाही अनुपस्थित हुँदा सरकार ढाल्न आवश्यक मत नपुग्ने देखेपछि सभामुखले कुनै छलफल नै नगरी सूचना टाँस गरेर बैठक स्थगित गर्नुभयो ।

मतदान अगाडि केही समय बैठक स्थगित गरेर संसद्को परामर्श समित वा राजनीतिक दलसँग छलफल गर्न पनि सकिन्थ्यो । तर सभामुखले त्यसो पनि गर्नुभएन । उहाँ बैठक स्थगित भएको सूचना टाँस गरेर हिँड्नु भयो । जसले सांसद् बैठक नै अनिश्चित भयो ।

त्यही अनिश्चित भएको बैठक वैशाख २७ गते गर्ने सहमति भएको छ । तर एमाले सांसद् राजिव पहारीले २७ गतेको बैठकमा पनि विश्वासको मत माथि मतदान नहुने दाबी गरिसक्नु भएको छ । पहारीको भनाइ छ–‘बैठकमा कुनै एक सांसद् अनुपस्थित हुनुभयो भने मतदान हुन सक्दैन, किनकि सभामुखले सिस्टम बसाइसक्नु भएको छ ।’

सभामुख अधिकारी भने त्यो घटना अचानक भएको हुँदा बैठक स्थगित गर्नु परेको बताउनुहुन्छ । ‘खिमविक्रम शाही दलको नेताको सम्पर्कमा नआए पछि पियारी थापा रुममा नै पुग्नु भएछ, त्यहाँ पनि नभेटिए पछि मलाई भन्नुभयो अनि बैठक स्थगित गरेँ’– उहाँले भन्नुभयो ।

फेरि त्यसैगरी कोही सांसद् अनुपस्थित भए के गर्नुहुन्छ त ?  भन्ने प्रश्नमा उहाँले भन्नुभयो –‘अब कोही किन अनुपस्थित हुन्छ र ? संसदमा विश्वासको मत दिने र लिने हो, अब त्यस्तो हुदैँन ।’

वैशाख २७ मा बैठक बस्ने र मतदानको काम पनि हुने उहाँको दाबी छ । ‘२७ गते संसद् अधिवेशन चल्छ, कसैले सहभागीता नजनाए पनि चल्छ, त्यसले केही फरक पार्दैन’– सभामुख अधिकारीले भन्नुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !