२७ पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बर्दियामा सिकलसेल उपचार केन्द्र संचालन हुने

प्रकाशित मिति :  २५ बैशाख २०७८, शनिबार ०८:२४


बाँके । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकास्थित मगरागाढी प्राथमिक स्वास्थ्य केन्द्र रहेको आरसी थारू मेमोरियल नगर अस्पतालमा पहिलो सिकलसेल उपचार केन्द्र संचालन हुने भएको छ ।

आरसी थारू मेमोरियल नगर अस्पताल र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबीच यही वैशाख २० गते सम्झौता भएपछि सिकलसेल उपचार केन्द्र संचालन हुने भएको हो ।

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको तर्फबाट निर्देशक रोशनी लक्ष्मी र बारबर्दियाको आरसी थारू मेमोरियल नगर अस्पतालको तर्फबाट डा रोशन सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । यस नगर अस्पतालबाट सिकलसेल एनिमिया रोगका बिरामीलाई नेपाल सरकारले प्रदान गरेको सहुलियत तथा औषधि, औषधिजन्य सामग्री, शल्यक्रिया, शय्या र प्रयोगशाला आदि सेवा निःशुल्करूपमा प्रदान गरिने भएको छ ।

बारबर्दियाका नगरप्रमुख दुर्गाबहादुर थारूले भन्नुभयो, ‘अब सिकलसेल उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज र बर्दिया अस्पताल गुलरिया जानुपर्ने बाध्यता पनि अन्त्य भएको छ ।’ सो केन्द्रको संचालनबाट स्थानीयवासीले गाउँघरमै स्वास्थ्य सुविधा पाउने भएपछि निकै राहतको अनुभव गरेका छन् ।

बारबर्दिया नगरपालिका–२ जोगीगाउँकी रम्भा थारूले भन्नुभयो, ‘जिल्लामा सिकलसेल रोगका धेरै बिरामी छन्, उपचार गर्न पहिले नेपालगञ्ज, काठमाडाैं, भारतको लखनऊजस्ता ठूला शहरका अस्पताल जाँदा धेरै दुःख हुन्थ्यो, अब नगरपालिकामा अस्पताल बनेपछि खुशी भएका छौं ।’

नेपाल सरकारले विपन्न नागरिक कोषअन्तर्गत सिकलसेलका रोगीको उपचार गर्दै आएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !