९ चैत्र २०८२, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संवैधानिक परिषद् बैठकमा कांग्रेसले भाग लिँदैन- शेरबहादुर देउवा 

प्रकाशित मिति :  8 May, 2021 9:27 am


काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको संवैधानिक परिषद् बैठकमा भाग नलिने बताउनुभएको छ ।

देउवाले शनिबार एक विज्ञप्ति जारी गरी प्रधामन्त्रीले आइतबार बोलाउनु भएको बैठकमा सहभागी नहुने बताउनुभएको हो । सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धि अध्यादेश त्रुटीपूर्ण भएकोले सो अध्यादेश अनुसार हुनलागेको बैठकमा सहभागी नहुने देउवाको भनाइ छ ।

सो अध्यादेश संविधानको विशिष्ट व्यवस्था र मूल भावना विपरित रहेको कांग्रेसको ठहर छ । यसले संविधानको आधारलाई नै भत्काउने कार्य गरेको कांग्रेसले जनाएको छ ।

कानुन निर्माण र संशोधन गर्ने संसदको आधारभूत, मौलिक एवं अविछिन्न अधिकारलाई कुण्ठित गरी संविधानको संरचना नै भत्किने गरी पटक–पटक अध्यादेश जारी गरिएको देउवाको आरोप छ । ‘नेपाली कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ’, विज्ञप्तिमा भनिएको छ ।

लोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायले सरकारको काम कारवाहीको समेत अनुगमन अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य रूपले स्वतन्त्र र निष्पक्ष हुनुपर्ने कांग्रेस सभापति देउवाले बताउनुभएको छ । त्यसैले संवैधानिक निकायको  नियुक्तिका लागि नेपालको संविधानले संवैधानिक परिषद्को विशेष व्यवस्था गरेकोमा अध्यादेशले त्यसलाई भत्काएको देउवाको भनाइ छ ।

संवैधानिक परिषद् सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मूल्य मान्यता प्रतिकूल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको भन्दै उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सदस्यलाई समेत देउवाले आव्हान गर्नुभएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !