३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विनापार्टीको उम्मेदवारले एमाले उम्मेदवारसँग प्रतिस्पर्धा गर्न सक्दैन- दिपक निराैला

प्रकाशित मिति :  २५ बैशाख २०७८, शनिबार १०:३८


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले नेता शंकर पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस राख्नुभयो । जसमा लेखिएको छ, ‘जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुँदैन भनेर हामी भन्छाैँ, त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुँनै सक्दैन, मनन् गरौँ ।’

राष्ट्रिय सभाको जेठ ६ गते हुने उपनिर्वाचनको लागि नेकपा एमलेकै दुईजना नेता चुनावी मैदानमा छन् । वाग्मतीमा एमालेको सूर्यध्वजावहाक चुनाव चिन्ह लिएर रामबहादुर थापा बादल चुनावी मैदानमा हुनुहुन्छ । एमालेकै खिमलाल देवकोटालाई माओवादी, कांग्रेस र माधव गुटले स्वतन्त्र उम्मेदवार बनाएका छन् । आफ्नो भोट संरक्षणका लागि नेपाल मजदुर किसान पार्टीले पनि कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।

खिमलाल देवकोटालाई उम्मेदवार बनाएसँगै कांग्रेस र माओवादीले आफ्नो उम्मेदवार गुमाएका छन् । ती पार्टीका मतदाताले आफ्नो चुनाव चिन्हमा आफ्नो उम्मेदवारलाई मत समेत खसाल्न पाउने छैनन् । एमालेलाई अप्ठेरो पार्ने नाममा माओवादी कांग्रेसले आफ्नो उम्मेदवार र चुनाव चिन्ह समेत गुमाएका छन् ।

नेकपा एमाले वाग्मती प्रदेश सभा सदस्य दिपक निरौला विनापार्टीको उम्मेदवारले एमाले उम्मेदवारसँग प्रतिस्पर्धा गर्न नसक्ने बताउनुहुन्छ । राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेको सबै भोट गृहमन्त्री रामबहादुर थापा बादललाई जाने उहाँको भनाइ छ ।

‘आफूलाई नेपाल कम्युनिष्ट पार्टी एमालेबाट निर्वाचित प्रतिनिधि हुँ भन्नेले बादललाई भोट दिनुपर्छ, पार्टीको खोल ओडेका केहीले नदिन पनि सक्छन, तैपनि उहाँ जित्नुपर्छ, जित्नुहुन्छ’– सांसद् निरौलाले भन्नुभयो ।

बादल नेकपा एमालेको आधिकारिक उम्मेदवार रहेको बताँउदै सांसद् निरौलाले कसैले पनि पार्टीलाई अन्तरघात गर्न नसक्ने बताउनुभयो । आगामी जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेको स्पष्ट बहुमत रहेको उहाँले बताउनुभयो । ‘एमाले हौँ भनेर पार्टीलाई प्रयोग गरेको भए बेग्लै कुरा हो, नत्र भने एमालेको भोट बादललाई आउनुपर्छ’– उहाँले भन्नुभयो ।

एमाले विरुद्ध नै अर्को उम्मेदवार खडा गरेर माधवकुमार नेपाल लगायतले पार्टी विभाजन गर्न खोजेको निरौलाको भनाइ छ । ‘पार्टीले गरेका बैठक तथा सभामा भाग नलिने, अनि गरेका निर्णय पनि नमान्ने, विपक्षीसँग साठँगाठँ गर्ने, यो त सरासर म विभाजन चाहन्छु भन्नु हो’ – निरौलाको भनाइ छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !