२ आश्विन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भक्तपुर अस्पतालका सबै श्यया भरिए

प्रकाशित मिति :  २५ बैशाख २०७८, शनिबार १३:५१


भक्तपुर । कोरोना भाइरस संक्रमित बिरामीले भक्तपुर अस्पतालका सबै श्यया भरिएका छन् । अस्पतालको क्षमताभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको भक्तपुर अस्पतालमा अक्सिजन अभाव हुँदा समस्या पर्न थालेको छ । निजी अस्पतालले कोरोना संक्रमित बिरामीको उपचार नगरेको अहिलेको अवस्थामा भक्तपुर अस्पतालमा बिरामीको चाप बढे पनि अक्सिजन नहुँदा भर्ना भएका बिरामीको उपचारमा समस्या परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभयो ।

अस्पतालले हाल ३३ श्यया जनरल, २५ श्यया हाइकेयर युनिट र ६ श्यया आइसियु गरी ६४ श्ययाको आइसोलेशन सञ्चालनमा ल्याए पनि आवश्यकताअनुसार थप गर्दै अस्पतालमा ८० बिरामी भर्ना भएर उपचार गरिरहेका छन् । अस्पतालमा संक्रमित बिरामी, कन्ट्याक्ट ट्रेसिङमा परेका, पिसिआर रिपोर्ट नआएका अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई अक्सिजन अभावमा उपचारमा समस्या परेको हो ।

डा. गौतमका अनुसार केही दिन अघिसम्म सिलिन्डरकै अभाव थियो । उहाँले सार्वजनिक रुपमा नै सहयोगको आह्वान गरेपछि विभिन्न निकायबाट आएको एक सय ६० सिलिन्डर सहयोगसहित दुई सय सिलिन्डर रहे पनि अक्सिजन नपाउँदा समस्या परेको बताउनुभयो । अस्पतालमा अहिले दैनिक दुई सय सिलिन्डर अक्सिजन खपत भइरहे पनि विगत तीन दिनदेखि अक्सिजन नपाउँदा थप समस्या परेको हो ।

‘अस्पतालमा बिरामीको चाप बढेको छ, अधिकांश बिरामी अक्सिजन चाहिने भएपछि अस्पताल आएका छन्’, मेसु डा. गौतमले भन्नुभयो, ‘एक बिरामीका लागि एक घण्टामा ठूलो तीनवटा सिलिन्डर अक्सिजन खपत हुने गरेको छ, ६ श्ययाको आइसियुमा मात्रै २४ घण्टामा ३० सिलिन्डर सकिन्छ, भर्ना भएका सबै बिरामीका लागि २४ घण्टामा दुई सय  सिलिन्डर अक्सिजन खपत हुने गरेको छ, तर अक्सिजन अभावले समस्या पर्न थालेको छ ।’

कूल ७५ श्ययाको क्षमताको अस्पताल भए पनि कोभिडका बिरामी बढेपछि अस्पतालले ८० श्यया चलाउँदै आएको छ । अधिकांश बिरामीलाई हाइफ्लोरमा अक्सिजन दिनु परेको छ, यस्तो अवस्थामा सय सिलिन्डर अक्सिजन मात्रै आपूर्ति हुँदा अस्पताललाई निकै सकस भएको छ ।

ललितपुरको सगरमाथा अक्सिजन कम्पनीबाट आपूर्ति गर्दै आएको अस्पतालले १०० सिलिन्डर पालोमा राख्दा पनि पालो नआएको, बालाजुको अक्सिजन कम्पनीबाट समेत अक्सिजन नपाएर पछि त्यसको प्रत्यक्ष असर अस्पताल र बिरामीलाई पर्न थालेको हो ।

भक्तपुर नगरपालिकाले चलाएको जनस्वास्थ्यदेखि निजी अस्पतालले समेत अक्सिजन आवश्यक पर्ने भएपछि अस्पतालसँग समन्वय नै नगरी बिरामी पठाउने गरेको र निजी अस्पतालले कोभिडको बिरामीको उपचार नै नगरेकाले अस्पतालमा बिरामीको चाप बढेको हो ।

कोभिडका बिरामीलाई लक्षित गरी अस्पतालले टेन्ट नै राखेर श्यया थप गरेको छ भने जिल्ला समन्वय समितिको रु १५ लाख र नगरपालिकाको रु चार लाखको सहयोगमा १५ श्ययाको कोभिड आकस्मिक वार्ड नै सञ्चालनमा ल्याएर उपचार भइरहेकोे छ ।

कोरोना बिरामीको उपचार गर्ने यो अस्पताललाई आफैँ अक्सिजन उत्पादन गर्न सक्ने व्यवस्था सरकारले गरिदिए श्यया थप गरेर बिरामीको उपचार गर्न सकिने अस्पतालको भनाइ छ । सरकारले तीन करोड रुपैयाँ लगानी गरेर लिक्विड अक्सिजनको व्यवस्था गरिदिए अस्पतालमा नै दैनिक चारदेखि पाँच हजार लिटर अक्सिजन उत्पादन गर्न सकिन्छ । अस्पताल प्रशासनले सरकारले यस्तो व्यवस्था गरिदिए दीर्घकालीन रुपमा अक्सिजनको समस्या समाधान गर्न सकिने जनाएको छ ।

गत वर्ष पहिलो लहरको कोराना महामारीको समयमा अक्सिजन दिनुपर्ने बिरामीको सङ्ख्या कम भए पनि यस वर्षको दोस्रो लहरमा भने आउने जति सबै कोरोनाका बिरामीलाई अक्सिजन दिनैपर्ने भएकाले अभाव भएको हो । अक्सिजन मात्रै नभई भक्तपुर अस्पतालमा पिसिआर परीक्षणमा समेत समस्या परेको छ । दैनिक २०० भन्दा बढी पिसिआर परीक्षणका लागि स्वाब संकलन हुँदै आएको यो अस्पतालमा केमिकल अभाव हुँदा स्वाब संकलनमा समेत समस्या परेको मेसु डा गौतमले जानकारी दिनुभयो ।

वाग्मती प्रदेश प्रयोगशाला धुलिखेलबाट आपूर्ति हुदै आएको स्वाब संकलन गर्ने केमिकल आउन छाडेपछि स्वाब संकलन र परीक्षणमा समेत समस्या एवं ढिलाइ हुने गरेको हो । अस्पतालले सिधै सामाजिक विकास मन्त्रालयसँग केमिकलको माग गरेको छ । यसको सहज आपूर्ति नभए भक्तपुरमा स्वाब संकलन र पिसिआर परीक्षणमा समेत समस्या पर्ने भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरमा शुक्रबारसम्ममा १३ हजार एक सय ५१ कोरोना संक्रमित भएका छन् । जसमध्ये दुई हजार नाै सय ८९ सक्रिय संक्रमित, अस्पताल भर्ना भएका एक सय ६७ र होम आइसोलेशनमा दुई हजार आठ सय २२ रहेका छन् ।

कोरोना संक्रमितमध्ये १० हजार २१ जना निको भएर घर फर्किएका र एक सय ४१ जनाको ज्यान गएकाे कार्यालयका प्रमुख मिजारले जानकारी दिनुभयो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !