२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारको विश्वास मत प्रस्ताव: माधव समूह के गराैं कसाे गराैंमा

प्रकाशित मिति :  २६ बैशाख २०७८, आईतवार ०४:५०


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिनिधि सभामा लिने विश्वासको मत माथिको प्रस्तावमा के गर्ने भन्ने रणनीतिमा जुटेको नेकपा एमालेको माधव नेपाल समूह रणभुल्लमा परेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना माग सम्बोधन नगरेसम्म असहयोग गर्ने बताउँदै आएको माधव समूह भोलि कसरी प्रस्तुत हुने भन्ने निर्णयमा पुग्न सकेको छैन । शनिबार साँझ मात्रै  प्रतिनिधि सभा बैठक बस्नु अघि सांसद् पदबाट सामूहिक राजीनामा गर्ने निचोडमा पुगेको माधव समूहमा सो कुरामा समेत विवाद देखिएको छ ।

माधव समूहका केही सांसद् पदबाट राजीनामा दिने पक्षमा भए पनि केही सांसद्हरु पदबाट राजीनामा दिँदा जनमतको अपमान हुने र आफूहरु कमजोर हुने अडानमा छन् ।  यसै विषयमा छलफल गर्न आज सो समूहका नेता र सांसद्को जुम बैठक बस्दै छ ।

माधव समूहले सांसद् पदबाट सामूहिक राजिनामा दिने, वा फ्ल्लोर क्रस गरेर प्रधानमन्त्रीको विश्वासको मतलाई असफल गराई सरकारलाई गिराउने रणनीति बनाएको छ । फ्लोर क्रस गरेर सरकारलाई असफल गराउँदा पनि एमाले बाहेकको गठबन्धनको सरकार नबन्ने र फेरि एमाले र केपी ओली नेतृत्वकै चुनावी सरकार बन्ने भएपछि सरकार र एमालेलाई असफल गराउन बैठक अघि नै सांसद्ले सामूहिक राजीनामा दिने तयारी सो समूहले गरेको छ ।

माधव समूहका सांसद्ले प्रतिनिधि सभा बैठक अघि सामूहिक राजीनामा दिए एमाले बाहेकको गठबन्धनलाई सरकार बनाउन आवश्यक मत पुग्ने समूहको आँकलन छ । माधव समूह जनता समाजवादी पार्टी(जसपा)का कति सांसद् प्रधानमन्त्रीको पक्षमा उभिन्छन् र त्यही अनुसार रणनीति बनाउने भनेर अलमलमा परेको छ । सरकारलाई विश्वासको मत दिने विषयमा जसपामा विवाद छ । महन्थ ठाकुर लगायतका नेता सरकारको पक्षमा छन् भने उपेन्द्र यादव, बाबुराम भट्टराई लगायतका नेता भने सरकारको विपक्षमा छन् ।

सरकारको विरुद्ध कसरी जाने भन्ने विषयमा अझै पनि ठोस निर्णय नभएको माधव समूहका एमाले सांसद् यज्ञराज सुनुवारले बताउनुभयो । ‘अहिलेसम्म ठोस निर्णय भएको छैन, छलफल चलिरहेको छ, छलफलबाट निष्कर्ष निस्किएला’, सुनुवारले भन्नुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !