३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अक्सिजन सिलिण्डर खोजी अभियान

प्रकाशित मिति :  २७ बैशाख २०७८, सोमबार ०५:२७


बलेवा ।  बागलुङका मोटर ग्यारेज र व्यक्तिका घरघरमा रहेका अक्सिजनका सिलिण्डरको खोजी कार्य शुरु भएको छ ।

बागलुङ नगर स्वास्थ्य शाखासहित जिल्लाभरका स्वास्थ्य कार्यालयले खोजी कार्य अगाडि बढाएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो । सबैभन्दा बढी सिलिण्डर बागलुङ बजारका ग्यारेजमा भेटिएको छ ।

अस्पतालमा रहेका ५० वटा सिलिण्डरसहित ६० वटा थप भेटिएपछि अस्पतालका लागि एक सय १० वटा पुगेको जनस्वास्थ्य निरीक्षक दिनेश जिसीले बताउनुभयो । ‘हामीले खोजी अभियान जारी राखेका छौं, भरपाई गरेर नगरपालिकाले ल्याएको छ, मोटर ग्यारेज अहिले चलेका छैनन्, अस्पतालमा आवश्यक छ, त्यसैले संकलन गरेका हौं’, उहाँले भन्नुभयो । बागलुङ बजारबाहेक गलकोट, बुर्तिवाङलगायतका बजारमा पनि छिटफुट रहेका अक्सिजन सिलिण्डर खोज्ने काम भएको छ ।

धौलागिरि अस्पतालमा कोभिडका जटिल संक्रमितहरु बढिरहेका छन् । दैनिक शय्या भरिएकाले अक्सिजनसमेत चाहिएको हो । अस्पतालभित्रका २५ शय्यामा प्लान्टको अक्सिजन वितरण भए पनि बाँकी शय्या र रातमाटास्थित आइसोलेसन केन्द्रमा अक्सिजनको आवश्यकता बढेको हो । शनिबार बेलुका केही संक्रमितलाई रातमाटा लगेर भर्ना गरिएको छ । संक्रमितहरु घरघरमा बसे पनि जुनसुकै बेला समस्या थपिएर आउने अवस्था भएपछि सिलिण्डरको जोहो गराइएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।

कोभिडको संक्रमण भएर श्वासप्रश्वासमा समस्या भएका बिरामीलाई धेरै अक्सिजन चाहिने भएकोले यो बेला बढी खोजी भएको हो । सामान्य बिरामीलाई सात घण्टा पुग्ने अक्सिजन सिलिण्डर कोभिडक संक्रमितलाई दुईदेखि तीन घण्टामै सकिने गरेको चिकित्सकहरुले बताएका छन् । शनिबार बिहान पनि धौलागिरि अस्पतालमा २५ वटा सिलिण्डर सकिएपछि भर्नका लागि पोखरा पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताउनुभयो ।

अस्पतालमा जडान भएको प्लान्टमा कम्प्रेसर मेसिन नभएकाले सिलिण्डरमा भर्ने व्यवस्था छैन । अक्सिजन प्लान्टको सर्भिसिङसमेत नभएर आपूर्ति ठप्प हुने बेला आएको छ । यो जटिल समस्यामा तत्काल सहयोज जुटाएर दुवै काम गर्ने योजना बनाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताउनुभयो । उहाँले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा बजेट माग गरिरहेको बताउनुभयो । अस्पतालका चिकित्सकका अनुसार कम्प्रेसर मेसिन ल्याएर संचालन गर्ने तथा अक्सिजन भर्ने कामका लागि तत्काल २० लाख रुपैंया बजेट आवश्यक हुनेछ ।

अघिल्ला वर्षझैं शुरुआतमै आइसोलेशन नबने पनि पालिका तहमा पनि अक्सिजनसहितको मात्रै बनाउने क्रम शुरु भएको छ । ताराखोला गाउँपालिकामा निर्माण भएको १५ शय्यामध्ये दुई वटा अटोमेटिक कन्सल्ट्यान्ट मेसिन राखिएको स्वास्थ्य शाखा प्रमुख उदीत थापाले बताउनुभयो । ताराखोलामा आइतबारसम्म ३० भन्दाबढी होम आइसोलेशन कक्षमा छन् । बडिगाड गाउँपालिकामा १० वटा अक्सिजनसहितको आइसोलेशन कक्ष बनाइएको छ । दुई वटा यसअघिनै ल्याएका मेसिनबाहेक पाँच वटा खरिदको प्रक्रिया थालिएको हो ।

बरेङले पनि दुई वटा अक्सिजनको सिलिण्डर व्यवस्थापन गरेको छ । तमानखोला र ढोरपाटन नगरपालिकाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पनि अक्सिजनसहितको व्यवस्थापन भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

‘अहिले जोड्ने पूर्वाधारले पछिसम्म काम गर्नेछ’, स्वास्थ्य शाखा प्रमुख घनश्याम सापकोटाले भन्नुभयोे, ‘नगरपालिकाले बजेट विनियोजन गरेको छ, निजी संस्थामा भेटिएका अक्सिजन सिलिण्डर पनि खोजी भइरहेको छ ।’

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !