२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जनता र पार्टीको हितको लागि प्रधानमन्त्री केपी ओलीलाई मतदान गरेनाैं- माधव कुमार नेपाल

प्रकाशित मिति :  २८ बैशाख २०७८, मंगलवार ०३:३६


काठमाडौं । नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालले आफ्नो गुटले देश, जनता र पार्टीको हितको लागि प्रधानमन्त्री केपी ओलीलाई मतदान नगरेको बताउनुभएको छ ।

साेमबार प्रतिनिधि सभा बैठकमा सरकारले लिएको विश्वासको मतमा नेपाल गुट अनुपस्थित भई सरकारको प्रस्तावलाई असफल गराएको थियो । पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीका काम कारबाहीका कारण उहाँलाई राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित नभएको नेपालले जनाउनुभएको छ ।

साेमबार साँझ एक विज्ञप्ति जारी गर्दै उहाँका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै मतदानमा सहभागी नभएको नेपालले बताउनुभएको छ । ‘देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि आ–आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्रप्रेमी, राजनीतिकर्मी तथा जनसमुदायको कर्तव्य  हुने भएकोले सोही अनुरुप हामीले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेका हौँ’, विज्ञप्तिमा भनिएको छ ।

आफ्नै सरकारलाई असफल गराउन प्रतिनिधि सभा बैठकमा उपस्थित नहुनभएका नेपालले सो कार्य देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक भएको बताउनुभएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई उहाँले देश, जनता र पार्टी प्रति जिम्मेवार भए सोच्न विज्ञप्ति मार्फत आग्रह गर्नुभएको छ । देशको संविधान र पार्टीको विधानको सम्मान गर्न, विगतका गल्तीहरुलाई सच्याउन, पार्टी एकताका लागि आफूहरुले अघि सारेको कुराहरुको सम्बोधन गर्न र राष्ट्रिय तथा पार्टीको एकतालाई नखल्बल्याउन भन्दै उहाँले विज्ञप्तिमा आग्रह गर्नुभएका छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सर्वोच्च अदालतको फैसला तथा नवौं राष्ट्रिय महाधिवेशनको निर्णय अनुसार अघि बढाउने आफूहरुको प्रयास पार्टी अध्यक्षकै कारण असफल भएको उहाँको आरोप छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री फागुन २८ गतेको निर्णय सच्याउन चाहेको नेपालको आरोप छ ।

उहाँले चारजना पार्टी स्थायी कमिटीका नेतालाई आधारहीन आरोप लगाउँदै कथित स्पष्टिकरण सोध्ने र पार्टीबाट नै निलम्बन गर्ने फुटपरस्त काम गरेको अध्यक्षलाई आरोप लगाउनुभएको छ । त्यस्तै आफू लगायत ३० जना प्रतिनिधि सभाका सदस्यलाई आधारहीन आरोप लगाएर स्पष्टिकरण सोधेको नेपालको आरोप छ ।

पार्टी एकता जोगाउन अनेक पटक वार्ता गर्दा पनि सफल नभएको नेपालले बताउनुभएको छ । प्रधानमन्त्रीले राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानमा आँच पुग्ने किसिमका गतिविधिहरु गर्दै राज्यलाई नै कमजोर समेत बनाएको नेपालको आरोप छ ।

साेमबारको प्रतिनिधि सभा बैठकमा नेपाल गुटका २८ जना सांसद् अनुपस्थित भएका थिए । यसरी अनुपस्थित सांसद्लाई पार्टीले कुनै पनि बेला पदबाट हटाउन सक्ने कानुनी व्यवस्था छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !