३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अनेरास्ववियू काभ्रेद्वारा सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामाग्री

प्रकाशित मिति :  २८ बैशाख २०७८, मंगलवार ०४:२५


बनेपा ।  दोस्रो लहरको कोभिड संक्रमणदर तीव्रगतिमा फैलिरहेको बेला अग्रपंतिमा रहेर काम गर्ने सुरक्षाकर्मी र पत्रकारका लागि अनेरास्ववियू काभ्रेले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सोमबार अनेरास्ववियू काभ्रेले नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई सो सामग्री हस्तान्तरण गरेको हो ।

सो क्रममा अनेरास्ववियूले सात सय ५० थान मास्क, ६० मिलिलिटरको १०० थान स्यानिटाइजर, ३० थान फेससिल्ड, १० थान बाफ लिने मेसिन हस्तान्तरण गरेको छ । नेकपा (एमाले) माधव नेपाल समूह काभ्रेका जिल्ला सचिव दीपक गौतम, युवासंघका केन्द्रीय सचिव भेषराज शाह, अनेरास्ववियू काभ्रेका अध्यक्ष वदन भण्डारी, उपाध्यक्ष मन्दिरा तिमल्सिनालगायतले महासंघ कार्यालयमै पुगेर अध्यक्ष बद्रीराज तिमल्सिनालाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष तिमल्सिनाले संकटका बेला पत्रकारको सहयोगका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएर विपद्का बेलामा ठूलो सहयोग पुर्‍याएको बताउनुभयो ।

त्यस्तै अनेरास्ववियूले सोमबार नै जिल्ला प्रहरी कार्यालयमा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सो टोलीले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका लागि सात सय ५० थान मास्क, ६० मिलिलिटरको दुई सय थान स्यानिटाइजर, दुई सय  थान फेससिल्ड, १० थान बाफ लिने मेसिन हस्तान्तरण गरेको छ । संस्थागतरूपमा जिल्लाका सबै नगरपालिका, गाउँपालिका र आइसोलेशन केन्द्रमा स्वास्थ्य सामग्री वितरण गरिने नेकपा एमाले काभ्रेका जिल्ला सचिव गौतमले बताउनुभयो ।

महासंघद्वारा ‘आपतकालीन राहत कोष’ स्थापना

कोभिड कहरकै बीचमा पनि अग्रपंतिमा रहेर काम गर्ने पत्रकारको सहयोगका लागि कोरोना भाइरसको प्रभावले पर्ने कुनै पनि असहज परिस्थितिमा पत्रकारलाई राहत उपलब्ध गराउने उद्देश्यले नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले रु पाँच लाखको ‘आपतकालीन राहत कोष’ स्थापना गरेको छ । पत्रकार महासंघका अध्यक्ष तिमल्सिनाले राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखामा खाता खोलेर आफ्नो तर्फबाट सोमबार १० हजार रकम जम्मा गरी सो कोष स्थापनाको घोषणा गर्नुभएको हो ।

समाचार संकलनका क्रममा अग्रपंतिमा खटिने धेरैजसो संचारकर्मीको तलब, सेवा सुविधालगायत बीमा, बोनस, संचयकोष केही पनि नहुने र पाएको जागिरको तलबसमेत भन्ने बेलामा उपलब्ध नभएको वास्तविकतालाई ध्यानमा राखेर गाह्रो र अप्ठ्यारो पर्दा मद्दत गर्ने उद्देश्यले सो कोषबाट सहयोग गर्ने गरी कोष स्थापना गरेको महासंघले जनाएको छ ।

कोभिडकै कारण कुनै पनि असहज परिस्थितिमा पत्रकारलाई थोरै भए पनि राहतको महसुस गराउन सकियोस् भन्ने उद्देश्यले नेपाल पत्रकार महासंघ काभ्रेले  पाँच लाख रुपैंयाको आपतकालीन राहतकोष स्थापनाको कार्य अगाडि बढाएको अध्यक्ष तिमल्सिनाले बताउनुभयो । स्थापना गरिएको कोषबाट परिस्थितिजन्य अवस्थालाई मध्यनजर गरी पत्रकारहरुका लागि कार्यविधि बनाएर सहयोग गरिने उहाँले बताउनुभयो ।

कोषमा रकम जम्मा गर्ने गराउने तथा सहजीकरण गरिदिन महासङ्घले सबैमा आग्रहसमेत गरेको छ । त्यसका लागि महासंघले राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखाको खाता नं १०४०१००००७२०२००१ मा जम्मा गरी सहयोग गर्न महासङ्घले अनुरोध गरेको छ ।

पत्रकार महासंघले आह्वान गरेको सहयोगका लागि सोमबार नै माधव नेपाल पक्षका नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू काभ्रेले नगद रु १५ हजार महासंघ काभ्रेपलाञ्चोक शाखालाई हस्तान्तरण गरेको छ । त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशित प्रभातफेरी साप्ताहिकको प्रधानसम्पादक प्रल्हाद शर्मा हुमागाईँले रु पाँच हजार र पत्रकार कविता शर्माले १० हजार रुपैंया पत्रकार महासंघलाई हस्तान्तरण गर्नुभएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !