२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कृष्ण थापा आफ्नै जनताको बीच

प्रकाशित मिति :  २९ बैशाख २०७८, बुधबार १०:१८


काठमाडौं । काग्रेस माओवादी गठबन्धनको पक्षमा हस्ताक्षर नगर्ने अडान लिनुभएका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा अन्तिमसम्म पनि आफ्नो अडानमा टिक्नु भएको छ ।

राष्ट्रिय जनमोर्चाको प्रदेश सभा संसदीय दलका नेता समेत रहनु भएका थापा आफ्नो अडानलाई कायम राख्दै आफ्नै जनताको बीचमा पुग्नुभएको छ । उहाँ नयाँ सरकार गठनको पक्षमा हस्ताक्षर नगरी आफ्नो निर्वाचन क्षेत्र बाग्लुङ पुग्नुभएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुखले संयुक्त सरकार गठनको लागि दाबी गर्न आज अपरान्ह चार बजेसम्मको समय दिनुभएको थियो । तोकिएको समय सकिनलाग्दा पनि थापाको सही जुटाउन नसकेपछि कांग्रेस माओवादी लगायत गठबन्धनले सरकार बनाउने सम्भावना लगभग टरेको छ ।

नयाँ सरकार गठनको लागि ३१ जना सांसद्को हस्ताक्षर आवश्यक पर्छ । गठबन्धनले ३० जनाको हस्ताक्षर संकलन गरेपनि थापाले हस्ताक्षर नगरिदिँदा गठबन्धनको सरकार बन्ने बाटो लगभग बन्द भएको हो ।  थापा सुरु देखिनै कांग्रेस गठबन्धन सरकारको विपक्षमा हुनुहुन्थ्यो ।

बाग्लुङमा जनमार्चाका नेता कार्यकर्तालाई कांग्रेसले झुठा मुद्दा लगाएको  उहाँको गुनासो छ । त्यस्तै गएको निर्वाचन एमालेकै भोटले जितेकाले पनि एमालेलाई धोका दिन नहुने उहाँको अडान छ ।

आफू कम्युनिष्ट भएर कांग्रेसलाई मतदिनु आफ्नो धर्म नभएको उहाँको भनाइ छ । ‘म आफ्नै कामले घर आएको हुँ, सरकार गठनको विषयमा सुरु देखि नै मेरो आपत्ति थियो,’ सांसद थापाले भन्नुुभयो– ‘कांग्रेस जस्तो पार्टीलाई कम्युनिष्ट भएर मत दिन मनले मानेन ।’

अब के हुुन्छ ?

नयाँ सरकार गठनमा गठबन्धन असफल भएपछि ठूलो दलको हिसाबले एमाले संसदीय दलका नेता पृथ्वीसुुब्बा गुरुङ नै मुुख्यमन्त्री बन्नुहुने छ । गठबन्धनले बहुमत सदस्यको हस्ताक्षर बुझाउन नसकेपछि प्रदेश प्रमुुखले सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।

यसरी बनेको सरकारले एक महिना भित्र विश्वासको मत लिनु पर्छ । यदि  सरकारले विश्वासको मत लिन नसके प्रदेश सभा भंग भई नयाँ निर्वाचनको घोषणा हुने छ ।

यस्तो छ गणित

गण्डकी प्रदेश सभामा ६० जना सदस्य छन् । सरकार गठन गर्न ३१ जना सदस्यको आवश्यकता हुन्छ ।

प्रदेश सभामा एमालेका २७ सांसद् छन् । त्यस्तै कांग्रेसका १५ र माओवादीका १२ सदस्य छन् । सभामा जनमोर्चाका तीन, जसपाका दुई र एक स्वतन्त्र सांसद् छन् । स्वतन्त्र सांसद् राजिव गुरुङ समेत एमालेको पक्षमा हुनुहुन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !