३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गौरी गाईको गणना सुरु

प्रकाशित मिति :  ३० बैशाख २०७८, बिहीबार ०६:३०


नवलपुर । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचिमा सूचिकृत संकटापन्न अवस्थाको जंगली गाई (गौरी गाई)को गणना चितवन राष्ट्रिय निकुञ्जमा सुरु गरिएको छ । निकुञ्जले पाँच वर्षपछि मंगलबारबाट सो गणना थालेको हो ।

गौरी गाईको पछिल्लो अवस्थाको बारेमा जानकारी लिने उद्देश्यले यसको आन्तरिक अनुगमन तथा गणना सुरु गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले बताउनुभयो ।

गणनाका लागि निकुञ्जका २२ हात्ती र ६० जना जनशक्ति परिचालन गरिएको छ । गणना बढीमा पाँच दिनभित्र सकाउने लक्ष्य छ ।

निकुञ्जको सम्भावित चुरे, भावर र नदी तटीय क्षेत्रमा सालको वनसँग जोडिएका घाँसे मैदानलाई १४ ब्लकमा विभाजन गरी प्रत्यक्ष अवलोकन विधिबाट गणना भइरहेको छ । सन् २०१६ को गणनाअनुसार पर्सा र चितवन राष्ट्रिय निकुञ्जमा गरी चार सय ७३ गौरी गाई रहेकामा चितवनमा तीन सय ६८ छन् । सन् १९५० को दशकमा उदयपुर तथा कोशी टप्पु क्षेत्रमा प्रशस्त पाइने यो पछिल्ला दिनमा देखिन छाडेको छ । सन् २०११ को गणनामा तीन सय १२ वटा थिए ।

नेपाल र भारतसमेत दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका ११ देशमा यसका तीन उपप्रजाति पाइन्छ । विशेष गरी सुख्खा भागमा बस्न रुचाउने यसको सरदर आयु २० देखि ३० वर्ष हुन्छ । ठूलो झुण्डमा बस्न रुचाउने यो वन्यजन्तु कहिलेकाँही बाघको शिकारमा पनि पर्ने गरेको छ । भाले गौरी गाई ६ सय देखि एक हजार किलोग्रामसम्म हुछन् ।

प्रायः एउटा हुलमा आठ देखि ११ वटा गाई रहने गर्छ ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !