२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय सभा उपचुनावकाे नतिजा आजै आउने

प्रकाशित मिति :  ६ जेष्ठ २०७८, बिहीबार ०४:२३


काठमाडौँ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान बिहान ९ बजेदेखि सुरु भइसकेकाे छ । हेटाैंडामा भइरहेकाे साे मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।

उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८  मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ ।

निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र अन्य दलका तर्फबाट खीमलाल देवकोटा प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिनुभएको छ । निर्वाचन सकिनासाथ मतगणना हुने र नतिजा पनि आजै आउने आयोगले जनाएको छ ।

नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन हुन लागेको हो । वर्तमान संविधान कार्यान्वयमा आएपछि राष्ट्रियसभा सदस्यको पहिलो पटक उपनिर्वाचन हुन लागेको हो ।

यसैबीच आज हुने राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको  छ  । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा  भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो  । मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ  । मतगणना साँझ ५ बजेदेखि शुरु गरिने छ । आजै बेलुकासम्ममा नतिजा आइसक्ने जनाइएको छ ।

मतदानका लागि कोभिड सङ्क्रमित मतदाताले भुटनदेवी माविको उत्तर गेटबाट मात्रै प्रवेश पाउनेछन् भने अन्यले पश्चिम गेटबाट प्रवेश पाउनेछन् । मतदाताहरूलाई सामान्य स्वास्थ्य जाँचपछि १० मिटरको दूरीमा होल्डिङ सेन्टरमा बसाइने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । प्रदेश निर्वाचन आयोगको कार्यालयका अनुसार कुल मतदातामध्ये यसअघि नै १३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मतदानबाट कसैलाई पनि वञ्चित नगर्न प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुलाई पिसिआर रिपोर्ट अनिवार्य नगरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश निर्वाचन आयोगले मतदान स्थल र मतगणनाको संरचना तयार पारेको सहायक निर्वाचन अधिकृत गोविन्द पौडेलले जानकारी दिनुभयो  । विद्यालय परिसरमा क, ख र ग नामकरण गरेर तीन वटा मतदान केन्द्र स्थापना गरिएको छ । ‘क’ मा प्रदेशसभा सदस्य, ‘ख’ मा गाउँपालिका अध्यक्ष-उपाध्यक्ष तथा नगरका प्रमुख उपप्रमुख र ‘ग’ केन्द्रमा कोभिड–१९ सङ्क्रमित मतदाताले मत हाल्ने व्यवस्था मिलाइएको छ ।

सहायक निर्वाचन अधिकृत पौडेलका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखका लागि फरक मतपत्र हुनेछ । फरक रङको मतपत्रमा चुनाव चिह्न भने एउटै राखिएको हुनेछ  । मतदान केन्द्र र मतगणनामा खटिने गरी २४ कर्मचारी परिचालन गरिएको कार्यालयले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !