२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुवै पक्षको दाबी अध्ययनमा राष्ट्रपति

प्रकाशित मिति :  ७ जेष्ठ २०७८, शुक्रबार १२:४५


काठमाडौं । संविधानको धारा ७६ (५) अन्तर्गतको सरकार गठनका लागि दुई जनाको दाबी प्रस्तुत भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसको अध्ययन थाल्नुभएकाे छ ।

सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेस गर्नुभएको छ । दाबी पेस गर्नका लागि पाँच बजेसम्मको समय दिइएको थियो ।

प्रधानमन्त्रीले एमालेका १ सय २१ र जनता समाजवादी पार्टीका ३२ जना सांसद्‍‍को आफूलाई समर्थन रहेको पत्रसहितको दाबी राष्ट्रपति समक्ष पेस गर्नुभएको छ । एमाले नेता डा. राजन भट्टराईका अनुसार प्रधानमन्त्रीले एमाले र जसपाका अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतोको समर्थन सरकारलाई रहेको हस्ताक्षरसहितको पत्र बुझाउनुभएको छ ।

प्रधानमन्त्रीले दाबी पेस गरेपछि कांग्रेस सभापति देउवा दाबी पेस गर्न राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको थियो । देउवाले कांग्रेस, माओवादी र जसपाको उपेन्द्र गुट र एमालेको माधव गुटका गरेर १ सय ४९ जना सांसद्को आफूलाई समर्थन रहेको दाबी पेस गर्नुभएको छ ।

उहाँले एमाले र जसपाले समर्थन गरेको आधिकारीक पत्र भने बुझाउन सक्नु भएको छैन । संविधानमा सो दाबी गर्ने प्रतिनिधि सभा सदस्यले दलले समर्थन गरेको दलको पत्र बुझाउनु पर्ने व्यवस्था छ ।

देउवालाई समर्थन गरेका भनिएका सांसद्ले समेत आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताएका छन् । हस्ताक्षर गरेको भनिएका एमाले सांसद् जयबहादुर राईले राष्ट्रपतिलाई पत्र लेखेर आफ्नो हस्ताक्षर दुरुपयोग भएको जानकारी दिनुभएको छ ।

त्यस्तै एमाले नेता सुरेन्द्र पाण्डेले समेत आफूले देउवाको पक्षमा हस्ताक्षर नगरेको सार्वजनिक अभिव्यक्ति दिइसक्नुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !