सरकारद्वारा धुलिखेल अस्पताललाई थप चार भेन्टिलेटर
काभ्रेपलाञ्चोक । सरकारले धुलिखेल सामुदायिक अस्पताललाई कोरोना सङ्क्रमितको उपचारार्थ थप चार भेन्टिलेटर पठाएको छ । सो अस्पताललाई यही जेठ पहिलो साता कोभिड–महामारी व्यवस्थापनमा उल्लेख्य भूमिका खेलेको जनाउँदै सरकारले ६ करोड ८० लाख रुपैयाँ अनुदान प्रदान गर्ने घोषणा गरिसकेको छ ।
सो अस्पतालले काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, सिन्धुली तथा पूर्वी तराईका क्षेत्रलाई समेत उपचार सेवा पु्र्याउँदै आएकाले आइतबार थप उपकरण पठाइएको पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताउनुभयो । ‘जिल्लालगायत मध्यपहाडी क्षेत्रका नागरिक समेतलाई सेवा दिने भएकाले धुलिखेल अस्पताललाई अन्य अस्पताललाई झैँ कोरोना महामारी व्यवस्थापन गर्न अनुदानसँगै थप चार थान भेन्टिलेटर ल्याइएको हो’, उहाँले भन्नुभयो ।
उहाँका अनुसार यसअघि सरकारद्वारा घोषणा गरिएको अनुदान प्रदानका लागि प्रक्रिया भइरहेको छ । अर्थ मन्त्रालयद्वारा ‘स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा स्रोतको सहमति’अन्तर्गत सो अस्पताललाई कोभिड–महामारी व्यवस्थापनार्थ ६ करोड ८० लाख रुपैयाँ दिने घोषणा गरिएको हो । धुलिखेलसँगै मुलुकका अन्य २५ अस्पताल र नौ प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्यांक निर्माणका लागि करीब तीन अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
मन्त्रालयले विनियोजित गरेको सीमाभित्र रहेर खरीद प्रक्रिया अघि बढाउन सहमति दिने र दायित्व सिर्जना भएपछि रकम माग गर्ने जनाउँदै आइतबार ती अस्पताललाई दुई अर्ब ९५ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
अस्पतालमा सकेसम्म छिटो अक्सिजनको व्यवस्थापन गर्न सकिए कोरोना–बिरामीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई कोरोना–बिरामीको उपचारार्थ क्षमता बढाउन अनुदान दिएको जनाएको छ । घोषित बजेटअनुसार धुलिखेल अस्पतालले दश आइसियु, पाँच भेन्टिलेटर र एक अक्सिजन ट्यांक निर्माण गर्नुपर्नेछ ।
अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा. राजेन्द्र कोजूले सरकारको अनुदान सहयोगपछि कोरोनाका बिरामीलाई अक्सिजनसहित थप उपचार गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार अस्पतालमा एचडियू, आइसियू र सामान्य गरी एक सय २५ श्यया कोरोना संक्रमितको उपचारार्थ प्रयोग गरिएको छ । धुलिखेलबाहेक बनेपामा शिर मेमोरियललगायत चार अस्पताल छन् ।
जेठ पहिलो सातादेखि बनेपामै २५ श्ययाको ‘भोमी कोभिड डेडिकेडेट अस्पताल’ सञ्चालनमा ल्याइएको छ । यहाँ जिल्ला अस्पताल छैन । नमोबुद्ध नगरपालिकाको भकुण्डेमा अवस्थित मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नतिको प्रक्रियामा रहेको छ ।
–रासस