२९ कार्तिक २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मुखमा मास्क र खल्तीमा स्यानिटाइजरसहित धान रोप्दै कृषक

प्रकाशित मिति :  ११ जेष्ठ २०७८, मंगलवार ०२:०७


गलेश्वर । कोरोना संक्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो सुरु भएको छ ।

जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ सुरु भएको हो । म्याग्दीको शहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रहरू अहिले कोरोना संक्रमणको चपेटामा परेका भए पनि कामको सिजन सुरु भएकाले स्थानीय कृषक मुखमा मास्क र खल्तीमा स्यानिटाइजरसहित धान रोप्न व्यस्त भएका हुन् ।

निषेधाज्ञामा शहरबजारसँगै ग्रामीण क्षेत्रसमेत सुनसान भइरहेको बेलामा मङ्गला गाउँपालिका–३ बरङ्जा आल्टामा यतिबेला धान रोप्ने चटारो छ । असार महिनामा जस्तै किसान ब्याडमा राखेको बिउ काढ्न व्यस्त छन् । रोपाहारले धमाधम रोपिरहेका छन्, जुवा, हलो र गोरुको विकल्पमा ट्र्याक्टरले जोतेर हिल्याइरहेको छ ।

जेठको दोस्रो साता नै यहाँका किसानले आफ्नो खेतबारीमा धमाधम रोपाइँ गरिरहेका छन् । कोरोनाको संक्रमणबाट जोगिन हरसम्भव प्रयास गरेका स्थानीयवासीले विभिन्न गीत गाउँदै रोप्दा आसपासको क्षेत्रमा समेत रमाइलो माहोल बनाइरहेका स्थानीय युवा लोकेश पुन मगरले जानकारी दिनुभयो । हरेक वर्ष यस क्षेत्रमा सबैभन्दा अगाडि असारे धान रोपाइँ हुने गर्छ । जिल्लाभर यो वर्ष गत वर्षभन्दा अगाडि नै धान रोपाइँ हुने अनुमान गरिएको छ ।

कुल २१ हजार ६ सय ६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीन रहेको म्याग्दीमा तीन हजार आठ सय ९५ हेक्टरमा धान, ११ हजार एक सय १५ हेक्टरमा मकै, तीन हजार २० हेक्टरमा गहुँ, आठ सय २० हेक्टरमा तरकारी र ६ सय ३९ हेक्टर क्षेत्रफलमा फलफूल खेती हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्यांक छ ।

कोभिडसँग लक्षण मिल्ने कृषकलाई खेतबारीमा प्रवेश दिइँदैन भने मास्क र स्यानिटाइजरको प्रयोगमा जोड दिने गरिएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।

काेभिडको ‘चेन ब्रेक’ गर्न (सर्ने प्रक्रिया रोक्न) जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जेठ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !