२८ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

 महाकाली अस्पतालको सघन उपचारकक्षमा शय्या अभाव

प्रकाशित मिति :  ११ जेष्ठ २०७८, मंगलवार ०५:११


कञ्चनपुर । महाकाली अस्पतालको सघन उपचारकक्ष (आइसीयू)मा शय्या अभाव हुन थालेको छ । कोभिड–१९ संक्रमणका कारण बिरामीको संख्या वृद्धि हुन थालेपछि शय्या अभाव भएको हो । अस्पतालको सघन उपचारकक्षमा हाल छवटा शय्या मात्रै रहेका छन् । बिरामीको चापलाई मध्यनजर गर्दै त्यसलाई बढाएर १५ पुर्‍याउनुपर्ने अवस्था देखिएको छ ।

कोरानाको दोस्रो लहर फैलिएपछि अस्पतालको सघन उपचारकक्षका शय्या बिरामीले भरिएका हुन् । सघन उपचारकक्षसहित आइसोलेशन गरी सङ्क्रमितका लागि ९२ शय्या छन्, ती सबै भरिएका छन् । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले कोरोनाका गम्भीर अवस्थाका बिरामीका कारण आइसीयू कक्षमा शय्या बढाउनुपर्ने बाध्यता आएको बताउनुभयो । ‘अहिले छ शय्या छन्, ती सबै भरिएका छन् । गम्भीर अवस्थाका बिरामीलाई आइसीयूमा भर्ना नगरी नहुने बाध्यता छ’, उहाँले भन्नुभयो, ‘डिस्चार्ज नभई आएकालाई भर्ना गर्न नसकिने भयो, त्यसैले शय्या थप्नुपर्ने अवस्था छ ।’

आइसीयूकक्षमा तत्काललाई १५ शय्या थप्नुपर्ने अवस्था देखिएको अध्यक्ष जोशीले बताउनुभयो । ‘बिरामी सङ्ख्या हेर्दा त २५ शय्या थपेर पनि नहुने जस्तो छ’, उहाँले भन्नुभयो, “तत्काललाई १५ शय्या थप्नुपर्ने छ ।’ आइसीयू कक्षमा शय्या थप्नका लागि अस्पतालका पदाधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म पुगेका छन् । अस्पतालले आइसीयूमा शय्या थप र एचडीयू सञ्चालनका लागि मन्त्रालयबाट सकारात्मक आश्वासन पाएको छ ।

आइसीयू कक्षका लागि अस्पतालमा अहिले १८ भेन्टिलेटर छन् । मन्त्रालयबाट पछिल्लोपटक मात्रै पाँच भेन्टिलेटर आएका हुन् । त्यसअघि १३ भेन्टिलेटर आएका थिए । अस्पतालले आइसीयूसँगै एचडीयू सञ्चालनका लागि पनि पहल अघि बढाएको छ । चिकित्सकसहितको जनशक्ति नभएर एचडीयू सञ्चालन रोकिएको छ । अस्पतालमा २५ शय्याको एचडीयू कक्ष बनाइएको छ । भेन्टिलेटरबाहेक अन्य मोनिटरलगायतका सबै उपकरण जडान गरिएका छन् ।

‘मोनिटरलगायतका सबै उपकरण जडान गरिएको छ । शय्या छन् । भेन्टिलेटर जडान हुन बाँकी छन्’, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले भन्नुभयो, ‘जनशक्ति नभएर सञ्चालन हुनसकेको छैन ।’ एचडीयू सञ्चालनका लागि पाँच चिकित्सकसहितका ३५ स्वास्थ्यकर्मी चाहिने उहाँको भनाइ छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !