यसरी हुनसक्छ पार्टीको जित र माधव कमरेडको हित
काठमाडाैं। पार्टीभित्र बसेर आफ्नै पार्टीलाई ध्वंश गर्ने, चुनावमा जनताले दिएको भोट विरोधीलाई बेच्ने, आफ्नो पार्टी स्वाहा पारेर विरोधी पार्टीको सेवा गर्ने । यस्तो कर्तूत नेकपा एमालेभित्रै बसेर गरिँदैछ ।
नेकपा (एमाले) को राजनीतिक जीवनमा अनेक उतारचढाव आएको छ, विवाद र विग्रह भएको छ । अहिले भने राजनीतिक नैतिक पतनका दृष्टिले चरम हर्कत भइरहेको छ । विश्वकै लागि उदाहरण बनेको यति घिनलाग्दो दृश्य आफ्नै आँखा अगाडि देख्न परिरहेको छ । यति निकृष्ट र अनैतिक राजनीति विश्व इतिहासमा बिरलै देख्न र पढ्न पाइन्छ ।
फ्लोर क्रश गर्ने, फ्लोर क्रशमा गर्व गर्ने, पार्टीभित्रै छु भन्ने अनि सेवा चाहिँ विरोधीको गर्ने हर्कत संसदीय व्यवस्थामा कल्पना गर्न सकिँदैन । २०५४ मा पार्टी विभाजन हुँदा समेत यति घटिया प्रकृतिको हर्कत भएको थिएन ।
सत्य बोल्दा र लेख्दा कोही नेताको आँखामा म बिझाउँछु होला तर वक्रदृष्टि मलाई स्वीकार्य छ । लेखे–बोले बापत भविष्यमा मलाई व्यक्तिगत राजनीतिक रुपमा क्षति पुग्छ भने पनि मलाई मञ्जुर छ ।
यी पंक्ति लेख्न बस्दा आमाको काखमा लुटुपुटु हुने उमेरमा पार्टीको झण्डा बोकेर राजनीतिमा होमिएका ती दिनको सम्झना आउँछ । त्यसैले मलाई आफ्नोभन्दा पार्टीको धेरै माया लाग्छ । चितामा जल्न तयार हुन्छु तर पार्टीलाई जलाउन दिन्न भन्ने भावले म ओतप्रोत हुन्छु ।
कमरेड,
तपाईंले हामीलाई प्रशिक्षण दिँदै भनेका वाक्य–वाक्य र शब्द–शब्द मेरो मानसपटलमा आज पनि गुन्जिरहेछ । पार्टीभित्रको अन्तरसंघर्ष आन्दोलनलाई गति दिनलाई हो भन्नुहुन्थ्यो ।
अन्र्तसंघर्षमा विरोधीसँग सहकार्य गर्दैनौं र उनीहरुको साथ लिँदैनौं भन्नुहुन्थ्यो । हाम्रो अन्र्तसंघर्षका कारण बिरोधीलाई बलियो बन्ने मौका दिँदैनौं भन्नुहुन्थ्यो । घरझगडाको रीसमा विरोधीको औजार बन्न जाँदैनौं भन्नुहुन्थ्यो । पार्टीभित्र असहमति भयो भने पनि घात गर्न हुँदैन बरु पार्टी नै परित्याग गर्नुपर्छ भन्नुभएको वाक्य आज पनि कानमा गुन्जिरहेछ ।
पार्टीभित्र बैचारिक या प्रवृतिगत विषयमा संघर्ष भयो भने त्यसलाई विधिसम्मत हल गरिन्छ । महाधिवेशनमा व्यापक बहस हुन्छ, आवश्यकता प¥यो भने फरकफरक बिचारको प्रतिवेदन अध्ययनका लागि कार्यकर्ताका हात हातमा पु¥याइन्छ र महाधिवेशनबाटै छिनोफानो गरिन्छ । यस्तै यस्तै अनेक आदर्श वाक्य भन्नुहुन्थ्यो । तपाईंका यस्ता हजार वाक्य सम्झनामा छ । तर आज के भइरहेछ ?
तपाईंले विधि र पद्धतिलाई खरानी बनाउनु भएको छ । तपाईंले वर्ग दुश्मन भनेर जो चिनाउनुभयो, उसैसँग आज घाँटी जोडिरहनुभएको छ । कम्युनिष्ट आन्दोलनको मूलप्रवाह एमालेलाई शत्रुसँग मिलेर समाप्त पार्न कुनै प्रयास बाँकी राख्नुभएको छैन ।
आफ्नै पार्टीको अध्यक्षलाई प्रमुख दुश्मन बनाएर अरु पार्टीसँग सहकार्य गरिरहनुभएको छ । अहिले तपाईं जे गरिरहनुभएको छ, माक्र्सवादमा कहिँ पनि भेटिँदैन । अन्याय नै भयो भने पनि बरु कालकूट विष पिउन हुन्छ तर पार्टीभित्र बसेर पार्टीकै कुभलो गर्न हुँदैन भन्नुहुन्थ्यो । तपाईंले कम्युनिष्ट आचरण पालना गर्नुभएन, प्रचलित संसदीय आचारण समेत पालना गर्नुभएन ।
लड्ने नै भए अर्काे कित्तामा बसेर प्रहार गर्नुस् । एमालेलाई जलाउन तपाईंले छर्कंदै गर्नुभएको पेट्रोल एउटाले दिएको हो, सलाई अर्काेले दिएको हो, हात मात्र तपाईंको हो ।
पहिले गल्ती गरे पनि योगेश भट्टराई लगायतका साथीहरुले एउटा काम ठीक गर्नुभयो । आफ्नो पार्टीको सरकार ढालेर अर्को पार्टीको सरकार बनाउन हस्ताक्षर गर्नुभएन । सर्वोच्च अदालतको ढोकामा लाइन लागेर विपक्षीलाई प्रधानमन्त्री बनाइदिनुपर्यो भनेर मुद्दा हाल्नेहरुको नामावलीमा योगेशले आफ्नो नाम चढाउनुभएन ।
आफ्नै सरकार ढाल्ने र विपक्षीको सरकार बनाउनेहरुको नामावली अब पुस्तौं पुस्ताले पढ्नेछन् । त्यस्तो कालो सूचीमा आफ्नो नाम दर्ज गराउनबाट उहाँ सचेत रुपमा नै जोगिनु भएको छ । उहाँले आवेग होइन विवेकका आधारमा निर्णय गर्नुभएको छ । सर्वोच्च अदालतमा पुग्दा कमरेड गोकर्ण विष्टको पनि हस्ताक्षर दर्ज भएन, उहाँको सचिवालयले भने जस्तै बिरामी हुनुभयो या बिरामी भइदिनु भयो, जे होस हस्ताक्षर चुकाउनु भएन, ठीकै गर्नु भयो ।
कमरेड,
विपक्षी गठबन्धनमै रमाउन मन छ भने तपाईंले एमाले हूँ भनेर परिचय दिन छोड्न पर्छ । एमाले नाम बेच्न र व्यापार गर्न छाड्नुपर्छ । आज पार्टीलाई घात गर्दा रमाउँदै, ताली पिट्दै बडो बहादुरी गरेको अनुभूति गर्नुभएको छ तर तपाईंले जित्नुभएको छैन कमरेड । फेरि लेखौं– तपाईंले जित्नुभएको छैन कमरेड । निष्ठा र इमानमा चुकेर जितको भ्रम पाल्नु आत्मघाती हुन्छ । बाहिरबाट देख्दा तपाईंले पार्टीलाई घात गरिरहनुभएको छ, तर, वास्तविकतामा तपाईंले आत्मघात गरिरहनुभएको छ । आत्मघातलाई नै जित ठान्ने कस्तो मनोदशामा पुग्नुभयो कमरेड ?
तपाईं लाखौं कार्यकर्ताको सम्मानित नेता हुनुहुन्थ्यो, आज त्यो सम्मान सर्लक्कै गुमाउनुभएको छ । आफूले दिएको मत तपाईंले अर्कैलाई बेच्दा मतदाता आक्रोशित छन् । केही स्वार्थी पेशेवर लम्पट बुद्धिजिवी भनाउँदाहरुले तपाईंको पूजा आरती गरिरहेछन्, ताली पिटिरहेका छन् । तिनले गरेको तपाईंको पूजा मार हान्नु अघि बोकालाई गरिएको जस्तै पूजा हो ।
अहिले गरिएको दूषित गठबन्धन निर्वाचनसम्मै कायम राख्ने रे हो कमरेड ? एमालेलाई पत्तासाफ नै गर्ने हो त कमरेड ? कांग्रेस र माओवादीहरु एमालेको पत्तासाफ गर्न चाहन्छन् । उनीहरुको नियत र तपाईंहरुको उद्देश्य किन मिल्यो कमरेड ? एमालेको घर जलाउन प्रयोग भए वापत तपाईं र एकदुईजनालाई विरोधीले केही पुरस्कार पनि देलान् । तर, तपाईंका पछि लाग्ने कार्यकर्ताको भविष्य चाहिँ समाप्त पार्दै हुनुहुन्छ । नैतिकता छ भने बेग्लै पार्टी बनाउनुस्, जसलाई लाग्न मन छ उनीहरु लाग्छन् त्यस्तो पार्टीमा । त्यही नयाँ पार्टीलाई गठवन्धनमा लैजानुस् ।
तपाईंको नयाँ पार्टीमा गुटका केही मान्छे पक्कै लाग्लान् तर अहिले तपाईंकै पछि लागेका कार्यकर्ताको विशाल पंक्तिले मूलधार छाड्नेवाला छैनन् । गुट नचिन्ने, पार्टी चिन्ने कार्यकर्ता करिब ९० प्रतिशत हुन्छन् । गुटका सीमित कार्यकर्ता चुनाव चिन्ह त्याग्न तयार हुँदा रैछन् । तर सर्वसाधारण जनता पार्टी र चुनाव चिन्ह छोड्न तयार हुँदैनन । राष्ट्रियसभाको निर्वाचनमा हराए जस्तो सजिलो छैन !
तपाईंहरु र कांग्रेसको केमिष्ट्री कसरी मिल्यो कमरेड ? कसरी टिक्छ कमरेड ? कुन विश्वासको आधारमा अर्को पार्टीका मतदाताले तपाईंंलाई मत दिन्छन ? अरु पार्टीका मतदाता कस्ता छन् भन्ने थाहा पाउन भरतपुर महानगरपालिकाको निर्वाचन सम्झिए पुग्छ । त्यहाँ कांग्रेसको काँध पाउँदा पनि चुनाव जित्न माओवादीले मतपत्र च्यात्न परेको बिर्सनुभयो ? कि तपाईंका लागि माओवादी र कांग्रेसले आउँदो चुनावमा मतपत्र च्यात्ने बन्दोवस्त मिलाइदिन्छु भनेका छन् ? कांग्रेसका मतदाताले कम्युनिष्ट र कम्युनिष्टका मतदाताले कांग्रेसलाई भोट दिन सजिलो छैन ।
केही नेताले एमाले विरुद्धको औजारका रुपमा कांग्रेस र माओवादीको साथ पनि पाउलान् । तर, तपाईंको पछि लाग्ने कार्यकर्ताले चाहिँ के गर्ने ? तिनको भविष्य के हुने ? आफ्नो पछाडि लागेका कार्यकर्तालाई कांग्रेस र माओवादीको चुनाव चिन्ह उपहार दिने, आफूले चाहिँ उनीहरुबाट पद लिने खेल खेल्नुभयो ।
आजको खास लडाइँ स्वार्थकै हो । तपाईंहरुले संघर्षको कारण के हो भन्ने विषयमा जनतालाई भ्रममा पार्न धेरै प्रयास गरिरहनुभएको छ । तर, जनताले फिटिक्कै पत्याएका छैनन । तपाईंहरु कहिले संविधान र लोकतन्त्र बचाउने लडाईं हो भन्नुहुन्छ, कहिले कमरेड केपी ओलीको राष्ट्रवादी छवीमा हिलो छ्याप्न खोज्नुहुन्छ । अनेक निकृष्ट आरोप लगाउनुहुन्छ । तपाईंंहरुले प्रधानमन्त्री विरुद्ध घेराबन्दी प्रतिनिधि सभा विघटन भएपछि मात्रै गर्नुभएको हो ? तपाईंहरुकै असहयोग र घेराबन्दीले प्रतिनिधि सभा विघटन भएको होइन र ? यो कुरा जनताले राम्रोसँग बुझेका छन् भन्ने कमरेडहरुलाई चेतना भया ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई कमजोर बनाउन सकिन्छ कि भन्दै अहिले अर्को फण्डा रचिएको छ । केपी ओली भारतपरस्त हुनु भयो भनेर । यो भन्दा लज्जास्पद तर्क अरु केही हुन सक्दैन । भारतले केपी ओलीलाई होइन, केपी ओलीले भारतलाई झुकाएको यति धेरै प्रमाण जनताले देखिरहेका छन् । सन्तुलित वैदेशिक सम्बन्ध स्थापित गर्नुलाई तपाईंहरु झुकेको र झुकाएको भन्नुहुन्छ । यो मामिलामा तपाईंहरुको कुतर्क र दिनलाई रात हो भनेर गरिने कुतर्क उस्तैउस्तै हो ।
कमरेड केपी ओलीले केही नेता माथि अन्याय गर्नुभएकाले द्धन्द्ध सृजना भएको भन्ने जे प्रचार गरिएको छ त्यो सरासर भुठो हो । कमरेड माधव नेपालले पार्टीमा हिजो पु¥याउनु भएको योगदानप्रति म सम्मान गर्दछु । तर उहाँ माथि अन्याय भयो भन्ने कुरा स्वीकार गर्न सकिन्न । १५ वर्षसम्म लगातार पार्टीको नेतृत्व गर्ने जिम्मा दिनु अन्याय हो ? पार्टीले प्रधानमन्त्री बनाउनु अन्याय हो ? पार्टीको अध्यक्षको चुनावमा परास्त भएपछि वरिष्ठ नेता बन्नुभयोे, के त्यो अन्याय थियो ? प्रधानमन्त्री हुनु, पार्टी प्रमुख बन्नु, वरिष्ठ नेता बन्नुलाई अन्याय भनिन्छ भने न्याय चाहिँ केलाई भनिन्छ होला ? जहाँसम्म अरु केही नेताको व्यवस्थापनको कुरा छ, उहाँहरु धेरै त मन्त्री र पार्टीको पदाधिकारी भइसक्नु भएको छ र फेरि पनि उहाँहरुको भविष्य उज्ज्वल नै छ ।
अवसर त आज नपाउनेले भोलि पाउँछ । आज अवसर पाएकाले भोलि नपाउन सक्छ । अवसर सदासर्वदा पाइँदैन । भूगोलमा पार्टी काम गर्ने कैयन साथीहरुलाई केही नेताको साथ मिलेन तर, कार्यकर्ताको साथले माथि उठेका थुप्रै उदाहरणहरु छन् । जसले काम गर्ने भूगोल आफैं निर्माण गर्दैन र संसदीय मोर्चामा जो प्रतिस्पर्धाबाट होइन सधैं मनोनीतबाट मात्रै चुनिन चाहन्छ उ चर्का र उट्पट्याङ तर्क गर्दै अरुलाई दिग्भ्रमित पार्न खोज्छ । त्यसैले भावनामा बहकिने भन्दा पनि यथार्थ धरातलमा उभिन प्रयास गरौं ।
अन्त्यमा,
कमरेड माधव नेपाल, तपाईंले पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाको डिजाइन सफल बनाउने कस्सम खानुभएको छ । त्यो कस्सम तोड्न गा¥हो भएको छ भने मेरो अनुरोध छ– तपाईंले दशकौंसम्म पसिना बगाएको, जवानी सुम्पेको र नेतृत्व गरेको पार्टी, आन्दोलन र लाखौंलाख कार्यकर्तालाई धोका दिनु भन्दा देउवा र प्रचण्डसँगका बाचा तोड्नु बुद्धिमानी हुनेछ । त्यसैले कमरेड केपी ओली र तपाईं बस्नुहोस, केही घण्टा होइन धेरै दिन नै बिताएर छलफल गर्नुहोस् ! मन माझ्नुहोस अनि मिलनको बाचा गरेर हात मिलाउनुहोस्, यसैमा तपाईंको हित र पार्टीको जित हुन्छ । यसैमा देशको पनि भलाई हुन्छ ।