३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

इजरायलमा नयाँ राष्ट्रपतिको चयन हुँदै

प्रकाशित मिति :  १९ जेष्ठ २०७८, बुधबार १०:२७


जेरुसेलम ।  इजरायलको संसदले बुधबार इजरायलमा नयाँ राष्ट्रपतिको चयन गर्दैछ । राष्ट्रपतिको निर्वाचन इजरायली संसद नेसेटमा हुनेछ ।

इजरायलको संसदमा एक सय २० जना सांसदहरु रहेका र उनीहरुले नै राष्ट्रपतिको चयन गर्नेछन् ।

चुनावमा दुई जना प्रतिस्पर्धी रहेका छन् । राष्ट्रपति पदमा उम्मेदवारमध्ये एक जना वरिष्ट राजनीतिज्ञ आइज्याक हर्जोग र अर्का शिक्षाविद् मिरियम पेरेज रहनु भएको छ ।

साठी वर्षीय हर्जोग यसअघि इजरायलको लाबोर पार्टीका पूर्व प्रमुख हुनुहुन्थ्यो । साथै उहाँ संसदमा विपक्षी दलको नेता पनि रहनु भएको थियो । सन् ०१३ को संसदीय निर्वाचनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विपक्षमा चुनावमा उठ्नु भएको थियो ।

उहाँ इजरायलको प्रभावशाली जियोनिस्ट परिवारका सदस्य हुनुहुन्छ । उहाँका बुबा चाइम हर्जोग पनि इजरायलको राष्ट्रपति र संयुक्तराष्ट्रसंघका लागि इजरायली राजदूत हुनुहुन्थ्यो । उहाँका काका अब्बा एबान पनि इजरायलको पहिलो विदेश मन्त्री रहनु भएको थियो ।

अर्की उम्मेदवार ६७ वर्षीय पेरेज बढी अनुदारवादी र राष्ट्रवादी स्वभावकी हुनुहुन्छ । उहाँ मोरक्कोबाट सानैमा इजरायल आउनु भएको थियो । उहाँले इजरायलमा शिक्षिका, शिक्षाकर्मी र यहूदी धर्मको बारेमा अध्यापकका रुपमा सेवा गर्नु भएको  छ । उहाँका दुई छोराको इजरायली सैनिक सेवामै रहँदा ज्यान गएको छ ।

सन् ०१८ मा उहाँलाई इजरायलको सर्वोच्च पदक ‘इजरायल प्राइज’ बाट सम्मानित गरिएको थियो । यदि निर्वाचित भए उहाँ इजरायलको पहिलो महिला राष्ट्रपति बन्नु हुनेछ ।

राष्ट्रपतिमा निर्वाचित हुन इजरायली संसद नेसेटको एक सय २० स्थानमध्ये कम्तीमा ६१ स्थान प्राप्त गर्नु पर्दछ । कुनै उम्मेदवारले उक्त मत प्राप्त गर्न नसके दोस्रो चरणको मतदान हुनेछ । विजयी उम्मेदवारले आगामी जुलाई ९ बाट कार्यभार सम्हाल्नेछन् ।

विजयी उम्मेदवारले वर्तमान राष्ट्रपति रुभेन रिभलिनलाई प्रतिस्थापन गर्नेछन् । उहाँको कार्यकाल अर्को महिना समाप्त हुँदैछ ।

राष्ट्रप्रमुखका रुपमा रहने भए पनि इजरायलको राष्ट्रपति सम्मानित पद मात्र हुन्छ, र कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहीत हुन्छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !