२ असार २०८२, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रावतबाडा गाउँ एक साताका लागि सिल

प्रकाशित मिति :  २० जेष्ठ २०७८, बिहीबार ०४:१६


जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ ।

कोरोना संक्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही जेठ १९ गतेदेखि जेठ २८ गतेसम्म सो गाउँ एक साताको लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार बाहिरबाट आएको कुनै पनि व्यक्ति गाउँमा प्रवेश पाउने छैन । रावतबाडा र खड्काबाडाबीच आवतजावत पनि बन्द गरिएको छ । यी दुबै जोडिएका गाउँ हुन् । गाउँमा कोरोना संक्रमित बढ्न सक्ने भएकोले गाउँपालिकाले आइसोलेशन कक्ष थप गर्ने निर्णय गरेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

मंगलबार गाउँका २७ जनामा एन्टिजेन परिक्षण गर्दा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित सबैलाई गाउँपालिकाले बनाएको आइसोलेसन केन्द्रमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंले बुधबार गाउँका ५५ घरधुरीका एक सय नाै जनाको पिसिआरका लागि स्वाब संकलन गरिएको बताउनुभयो । परीक्षण गरिएको स्वाबको नतिजा आइसकेको छैन ।

‘गाउँमा कोरोना संक्रमण भयावह हुन सक्ने अवस्था आयो’, स्वास्थ्य संयोजक चौलागाईंले भन्नुभयोे, ‘गाँउ नै सिल गर्ने निर्णय भयो ।’ विगत एक सातादेखि गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गाउँपालिकाको सक्रियतामा उच्च सतर्कता अपनाइएको हो । एकै पटक ठूलो सङ्ख्यामा कोरोना पुष्टि भएपछि गाउँमा जनस्वास्थ्य सेवा कार्यालयको टोली बोलाएर पिसिआरका लागि स्वाब संकलन गरिएको हो ।

यसअघि रावतबाडा गाउँमा विवाहलगायतका सामूहिक गतिविधि तीव्र भएका थिए । काठमाडौं, सुर्खेत र भोजपुरलगायतका जिल्लाबाट मान्छे भित्रिएका थिए । गाउँमा कोरोना लक्षणका बिरामी बढेको थाहा पाएपछि वडाध्यक्ष विशाल खड्काले स्वास्थ्यकर्मीसहित गाउँमा पुगेको बताउनुभयो ।

उहाँका अनुसार बिरामीको अवस्थाबारे जानकारी लिएर पहिलो दिन एन्टिजेन परीक्षणका लागि कोभिड अस्पतालमा २७ जनालाई पठाइएको थियो । गाउँमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारी पुगेर सचेतना फैलाउनेदेखि लक्षणअनुसारको औषधि दिने गरिएको स्वास्थ्य शाखा संयोजक चौलागाईंले जानकारी दिनुभयो ।

बुधबार जिल्ला प्रशासन कार्यालय जुम्लाले प्रकाशन गरेको तथ्यांकअनुसार जुम्लामा कोरोना संक्रमितको संख्या चार सय २८ पुगेको छ भने एक सय ८९ जना निको भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाले पिसिआर र एन्टिजेनमार्फत कोरोना परीक्षण गर्दै आएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !