ललितपुर महानगर – कोभिड संक्रमितलाई २५ हजार, मृतकको परिवारलाई १ लाख दिने
काठमाडाैं । ललितपुर महानगरपालिकाले काेभिड-१९ बाट प्रभावित नगरबासीलाई आर्थिक सहयाेग गर्ने निर्णय गरेकाे छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुक्रबार पत्रकार सम्मेलन गरेर साे जानकारी दिनुभयाे । कोभिड-१९ संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएकाे उहाँले बताउनुभयाे ।
ललितपुर महानगरमा स्थायी बसोबास गर्ने व्यक्तिहरु कोभिड संक्रमित भइ उपचारको क्रममा निधन भएमा परिवारलाई महानगरले प्रति मृतक एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयाे ।
आईसीयू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरुलाई जनही ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड जितेकाहरुलाई जनही २५ हजार रुपैयाँ दिइने समेत प्रमुख महर्जनले बताउनुभयाे । महानगरबाट साे सहयोग लिन सिफारिसपत्र लगायत कागजपत्र आवश्यक पर्ने पनि उहाँले बताउनुभयाे ।