२९ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पाँचथर जिल्ला कारागारकाे नयाँ भवन बन्ने

प्रकाशित मिति :  २२ जेष्ठ २०७८, शनिबार १३:५६


पाँचथर । जीर्ण अवस्थामा पुगेको पाँचथर जिल्ला कारागारमा नयाँ संरचना निर्माण हुने भएको छ । सरकारले आगामी आर्थिक वर्ष योजना २०७८/०७९ को बजेटमा पाँचथर र मोरङ जिल्ला कारागारको नयाँ भवन निर्माणका लागि बजेट विनियोजन गरेपछि नयाँ भवन निर्माण हुने भएको हो ।

जीर्ण भवनमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी रहेको कारागारको नयाँ भवन बन्ने भएको हो । वर्षैंदेखि कारागारको नयाँ संरचनाका लागि पहल हुँदै आएकामा आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी संघिय सरकारले बजेट छुट्ट्याएको हो । कारागारको नयाँ संरचनाको डिजाइनअनुसार महिला र पुरुष कैदीबन्दीका लागि छुट्टाछुट्टै भवन बन्नेछन् ।

क्षमताभन्दा ६ गुणासम्म बढी कैदीबन्दी राख्नुपर्ने अवस्था आएपछि कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय पाँचथरका माध्यमबाट संघिय सरकारलाई भवन निर्माणका लागि ताकेता गर्दै आएको थियो । नयाँ भवन निर्माणका लागि सघन शहरी विकास कार्यालय झापाबाट नयाँ संरचनाको डिजाइन, ड्रइङ, स्टिमेटलगायत कार्यपूरा गरी शहरी विकास मन्त्रालयमा पुर्‍याइएको थियो । ‘यहाँ बनाइएको डिजाइनमा केही परिवर्तन गरी कारागारको नयाँ संरचना निर्माण हुने बुझिएको छ’, जिल्ला कारागार कार्यालय पाँचथरका प्रमुख (जेलर) सुरेन्द्रबहादुर मुखियाले भन्नुभयो, ‘नयाँ भवनसहित संरचना बन्ने कुराले खुशी छौँ । कैदीबन्दीलाई धेरै हदसम्म राहत मिल्छ ।’

जीर्ण अवस्थामा पुगेको कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी रहेका छन् । यो कारागार २० पुरुष र पाँच महिला गरी २५ जना क्षमताको हो । अहिले यहाँ २० जना महिला र एक सय २६ जना गरी एक सय ४६ जना कैदीबन्दी छन् भने एक जना आश्रित बालिकासमेत कारागारमा रहेकी छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा आलोपालो सुत्नुपर्ने, शौचालय जान लाइन लाग्नुपर्ने, खाना बनाउने तथा खाने ठाउँ नहुनेजस्ता समस्या रहेको जेलर मुखियाको भनाइ छ । दश रोपनी क्षेत्रफल रहेको कारागारका अधिकांश संरचनाहरू जीर्ण बनेका छन् । जसकारण कैदीबन्दी, कारागारको सुरक्षामा खटिएका सुरक्षाकर्मी, कर्मचारी लगायतले जोखिमपूर्ण भवनबाट सेवा दिँदै आएका छन् ।

खचाखच कैदीबन्दी रहेको कारागारमा कोभिड–१९ संक्रमणको त्रास उत्तिकै छ । कोभिड–१९ संक्रमणको पहिलो लहरमा गत वर्ष तीन जना कैदीबन्दीमा सङ्क्रमण देखिएपछि ब्यवस्थापनमा कठिनाई भएको थियो ।

नयाँ–नयाँ कैदीबन्दी थपिने, स्वास्थ्य परीक्षणसहित अदालती प्रकृयाका लागि कैदीबन्दीलाई कारागार बाहिर लगिरहनुपर्ने जस्ता समस्याले अहिले पनि सङ्क्रमणको उत्तिकै खतरा रहेको कारागार प्रशासनले जनाएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !