३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाँझो जमिनमा नर्सरी

प्रकाशित मिति :  २३ जेष्ठ २०७८, आईतवार ०७:५१


म्याग्दी । बेनी नगरपालिका–७ कुरिलाखर्कमा दुई महिलाले बाँझो जमिनमा नर्सरी स्थापना गरेका छन् । मालिका गाउँपालिका–६ दरवाङकी सिता गुरुङ र रघुगंगा गाउँपालिका–६ पाखापानीकी तेजकुमारी पुनले बाँझो जमिनलाई हराभरा बनाएका हुन् ।

वार्षिक रु एक लाख पचास हजार भाडा तिरेर नौ रोपनी बाँझो जग्गा भाडामा लिएर उनीहरुले नर्सरी स्थापना गर्नुभएको हो । पाखो जग्गालाई स्काभेटरले सम्माइ खनजोत गरी नर्सरी बनाएका हुन् । गत हिउँददेखि शुरुआत भएको रुबिना एण्ड दीक्षा नर्सरीमा अहिले बर्खा यामका लागि फलफुलका बिरुवा उत्पादन भएका छन् । खाली र बाँझो पाखोमा नर्सरी स्थापना भएपछि हराभरा र हरियाली बनेको छ ।

नर्सरी बनाउन लागि रु २२ लाख लगानी भएको सञ्चालक गुरुङले बताउनुभयो । “बीउ, सामग्री खरिद, घेराबार, टनेल लगायतका संरचना निर्माण गरेका छौ,” उहाँले भन्नुभयो “४५ हजार टिम्मुर, दुई हजार १०० सुन कागति, छ हजार दाँते ओखरका विरुवा उत्पादन भएको छ ।”

सेमि हाइटेक प्रबिधीको पलास्टिक घरमा विभिन्न प्रजातिका फुलका विरुवा तयार पारिएको छ । बर्षात हुन थालेपछि उत्पादित बिरुवा बिक्री सुरु गरेको नर्सरीकी अर्की सञ्चालक पुनले बताउनुभयो । जिल्ला दररेट अनुसार टिम्मुरको विरुवा प्रतिगोटा ५७ र दाँते ओखरका विरुवाको प्रतिगोटा ११५ रुपैयाँ मूल्य निर्धारण भएको छ । उहाँहरु सामुदायिक वन उपभोक्ता महासंघका अभियान्तका रुपमा जिल्लामा परिचित हुनुहुन्छ । वन र वातावरण क्षेत्रमा काम गरेको अनुभवलाई व्यवसायमा रुपान्तरण गरेको उहाँहरुले जानकारी दिनुभयो ।

नर्सरीलाई कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा साना ब्यवसायिक कृषि फर्म स्थापना तथा बिस्तार कार्यक्रम अन्तरगत एक लाख १५ हजार रुपैया अनुदान उपलब्ध गराएको थियो । दुई सेमि हाइटेक प्रबिधीको पलास्टिक घर बनाउनुभएको छ । गत हिउँद याममा प्याजका बिरुवा उत्पादन गर्नुभएको थियो ।

म्याग्दी र आसपासका क्षेत्रका कृषकलाई आवश्यक पर्ने तरकारी, फलफूल तथा बनस्पतिका बिरुवा आपुर्ति गर्ने उद्देश्यले नर्सरी सञ्चालन गरेको उहाँहरुले जानकारी दिनुभयो । पछिल्लो समय यहाँका कृषक नर्सरी ब्यवसायतर्फ आकर्षित भएका छन् ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !