३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पेट्रोलियम व्यवसायी र कर्मचारीलाई खोप उपलब्ध गराउन आग्रह

प्रकाशित मिति :  २३ जेष्ठ २०७८, आईतवार ११:४३


काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनले पेट्रोलियम व्यवसायी र कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ । संघले आइतबार एक विज्ञप्ती जारी गर्दै अत्यावश्यक सेवालाई सञ्चालन गर्न अग्रपंतिमा रही कार्य गर्ने पेट्रोलियम व्यवसायीहरुले खोप नपाएको भन्दै उपलब्ध गराउन आग्रह गरेको हो ।

संघका महासचिव विश्वप्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा तीनपटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा लिखित रुपमा माग गर्दा समेत सुनुवाइ नभएको जनाइएको छ । उहाँले भन्नुभयो, ‘अत्यावश्यक वस्तुभित्र समावेश गरिएको पेट्रोलियम पदार्थको ढुवानी गर्नेलाई तत्काल खोप उपलब्ध गराउन आवश्यक छ ।’

एसोसिएशनका अनुसार संस्थामा आवद्ध कोभिड महामारीकै कारण हालसम्म देशभर ११ जनाले ज्यान गुमाइसकेका छन् भने एक हजार दुई सय जना संक्रमित भइसकेका छन् । संघले प्रदेश नम्बर १ मा रहेका दुई सय ४१ पेट्रोल पम्पका सञ्चालक, कर्मचारी, ट्याकरका चालक/सहचालक गरी एक हजार सात सय ६३ जना, प्रदेश नम्बर २ का दुई सय ७८ पम्पका एक हजार नाै सय १३ जना, बाग्मती प्रदेशका तीन सय ८२ वटा पम्पका दुई हजार नाै सय ९८ जनालाई खोप उपलब्ध गराउन आग्रह गरेको छ ।

यसैगरी, गण्डकी प्रदेशका ६८ पम्पका चार सय ४०, लुम्बिनी प्रदेशका चार सय दुई पम्पका दुई हजार ६ सय ३४ जना र सुदूरपश्चिम प्रदेशका ८१ पम्पका पाँच सय ९८ गरी १० हजार तीन सय ४३ जनालाई तत्काल कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइदिन माग गरेको छ ।

—रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !