चन्द्रागिरिलाई अक्सिजन सिलिण्डर सहयोग
काठमाडौं । चन्द्रागिरि नगरपालिकालाई १० थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
काठमाडौं प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिलाई बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेशनलले आज संयुक्त रुपमा उक्त अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
नगरपालिकामा आज आयोजित कार्यक्रममा बाल विकास समाजका व्यवस्थापक प्रदीप श्रेष्ठ र वल्र्डभिजनका को–अर्डिनेटर भरत तामाङले नगरपालिकाका उपप्रमुख लिशा नकर्मी र प्रमुख प्रशासकीय अधिकृत निरज पौडेललाई हस्तान्तरण गर्नुभएको हो ।
विगतका वर्षमा नगरपालिकासँग सहयोग र साझेदारी गरेका उक्त संस्थाले १० अक्सिजन सिलिण्डर, २० अक्सिमिटर, २० थर्मल गन र ५० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहयोग गरेको नगरपालिकाका विपद् व्यवस्थापन प्रमुख भद्रा अर्यालले जानकारी दिनुभयो ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड संक्रमण देखिएपछि चन्द्रागिरिले कोभिड संक्रमितको उपचारका लागि तीन अक्सिजनसहितका आइसोलेशन केन्द्र र एउटा अस्पताल संचालनमा ल्याएको छ । उक्त आइसोलेशन केन्द्रको आवश्यकताका आधारमा नगरपालिकामा प्राप्त स्वास्थ्य सामग्री वितरण गरिने नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो ।
चन्द्रागिरिमा हालसम्म चार हजार पाँच सय ८६ कोभिड संक्रमित भइसकेका छन् । सोमध्ये चार हजार एक सय ४६ कोभिड संक्रमणमुक्त भइसकेका छन् ।
संक्रमितमध्ये तीन सय ६२ होम आइसोलेशन र १९ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चन्द्रागिरिमा हालसम्म कोरोनाका कारणले ५९ जनाले ज्यान गुमाइसकेका छन् ।
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिमा हाल १५ वडा रहेका छन् ।
– रासस