२६ कार्तिक २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सशस्त्रको भवन नौ महिनामा भुइँतला मात्रै

प्रकाशित मिति :  २६ जेष्ठ २०७८, बुधबार १०:२३


दार्चुला । ०७७ असोज ९ मा निवर्तमान गृहमन्त्री रामबहादुर थापाले व्याँसको छांगरुमा सशस्त्र प्रहरीको भवन निर्माण शिलान्यास गर्नुभयो । भारतले धार्चुला हुँदै कैलाश मानसरोवर जोड्न भन्दै नेपाली भूगोल लिपुलेक हुँदै सडक निर्माणको उद्घाटन गरेपछि सरकारले वैशाख ३१ गते व्याँसमा सीमा सुरक्षार्थ सशस्त्र प्रहरी राख्ने निर्णय गरेको थियो ।

सुरुमा बोर्डर आउट पोष्ट राखेर राज्यले सीमा सुरक्षामा सरकार गम्भीर बनेको देखाएको हो । बोर्डर आउट पोष्ट राखिएको तीन महिनापछि असार २८ गते मन्त्रिपरिषद्को निर्णयअनुसार छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय गर्‍यो । सोही निर्णयअनुसार सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नं ५० गुल्म छांगरुमा स्थानान्तरण गरियो भने खलंगामा सशस्त्र प्रहरी बल नं ४४ गण स्थापना भयो ।

छांगरुमा गुल्म नै स्थापना भएपछि सरकारले सशस्त्र प्रहरीलाई बाहै्रैमास राख्ने निर्णय गर्‍यो । सोही अनुसार एक वर्षभित्रै सशस्त्र प्रहरीको भवन निर्माण हुने भनियो । निर्माण व्यवसायी सुरेश चन्दले दुई महिनाभित्र भुइँतलाका २० कोठा र एक वर्षभित्र सुविधासम्पन्न ४० कोठे भवन निर्माण गर्ने बताउनुभयो । तर निर्माण शुरु गरिएको नौ महिनासम्म व्याँसमा सशस्त्र प्रहरीको जग मात्रै हालिएको छ । अहिले भवनको भुइँतलाको पिल्लरसम्म निर्माण पुगेको छ, व्याँस गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले भन्नुभयो, ‘त्यो पनि चारैतिरबाट बनेको छैन । कूल रु १० करोड लागतमा भवन निर्माण भइरहेको छ ।’

सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि सशस्त्र प्रहरीलाई बाह्रै महिना त्यहाँ राखिएको हो । व्याँसमा सशस्त्र गएको एक वर्षभन्दा बढी हुँदा पनि सशस्त्र प्रहरी अहिले भाडाको घरमा बस्दै आएका छन् । भवन अभावले अहिले पनि जनशक्ति व्यवस्थापन गर्न समस्या भएको सुरक्षाकर्मी बताउँछन् । भवन निर्माण अझै पनि ढिलाइ भइरहेको छ । सशस्त्र प्रहरीका अनुसार यही गतिमा हो भने भवन निर्माण अझै एक वर्ष बढी लाग्न सक्छ ।

त्रिदेशीय सीमा क्षेत्र तिंकरमा सशस्त्र प्रहरीको बिओपी निर्माणको काम अहिलेसम्म सुरु हुन सकेको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बिओपी निर्माणको काम अझै सुरु भएको छैन । व्यास गाउँपालिका–१ को तिंकर गाउँभन्दा माथिको छायालेकमा सशस्त्र प्रहरीको बिओपी बनाउने तयारी गरिएको हो । चीनसँगको सीमा क्षेत्रको निगरानी गर्न सरकारले तिंकरमा पनि सशस्त्र राख्न लागेको तर भवन दुवै ठाउँमा निर्माणमा ढिलाइ हुँदा यहाँ बस्ने सशस्त्र प्रहरीको मनोबल बढ्न नसकेको सुरक्षाकर्मी स्वयं बताउँछन् ।

तिंकरमा छ महिनाभित्रै प्रिफ्याबको एंगलसहितको भवन निर्माण गर्ने सम्झौता हो । तर यो आर्थिक वर्षमा त्यो ठाउँमा भवन बन्ने सम्भावना छैन । सरकारले तिंकरमा बोर्डर आउट पोष्ट बनाउनका लागि एक करोड बजेटमा ठेक्का सम्झौता गरेको थियो । दुवै ठाउँका भवन निर्माणमा निर्माण व्यवसायीले चासो दिएको छैन । निर्माण व्यवयासीले भवन निर्माणमा चासो नदिँदा दुवै ठाउँमा ढिलाइ भएको हो । ‘एउटा चिसो मौसम भाडाकै भवनमा आगो तापेर काटियो,’ एक सुरक्षाकर्मीले भन्नुभयो, ‘अर्को चिसोयाम आउँदासम्म भवन निर्माण हुने अवस्था देखिँदैन ।’ गत कात्तिकयता यो ठाउँमा उच्च पदस्थले समेत भ्रमण गरेका छैनन् । सुरुमा खाद्यान्न लगायतका सामग्री सबै हेलिकोप्टरमार्फत ढुवानी गरियो । कात्तिकपछि हेलिकोप्टर आउनै छोडेको छ ।

केही दिनअघि नेपाल प्रहरीको खाद्यान्न र बन्दोबस्ती हेलिकोप्टरमार्फत ढुवानी भयो, हाम्रो लागि अझै सरकारले हेरेको छैन । अहिलेसम्म भारतबाट खाद्यान्न ढुवानी गरेर खानुपर्ने बाध्यता छ । सरकारी उदासीनताले हामीलाई यो क्षेत्रमा काम गर्न निकै समस्या हुन थालेको छ । अहिले व्याँसमा रहेका सशस्त्र प्रहरीले व्यवहारिक रूपमा भारतबाटै खाद्यान्न ढुवानी गरेर खानुपर्ने अवस्था छ ।

यसैबीच प्रहरीले चिसोयाम कम हुँदै गएपछि आफ्नो क्षेत्रभित्र नियमित गस्ती गर्न थालेको छ । केही दिनअघि कालापानी नजीकैको क्षेत्रमा गस्तीमा निस्किएको सशस्त्र प्रहरी बुधबार तिंकर गाउँ पुगेको छ । छांगरुबाट तिंकर पुग्न चार घण्टा बढी समय लाग्छ । ‘नियमित गस्तीमा गएका हौँ’, अर्का सुरक्षाकर्मीले भन्नुभयो, ‘गाउँभन्दा माथि अहिले जाँदैनौँ । असार तिर नेपाल चीन सीमा बोर्डरसम्म जान्छौँ ।’

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !