२९ आश्विन २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नयाँ नक्सा बिना छापिएका पाठ्यपुस्तक जफत गर्न निर्देशन

प्रकाशित मिति :  २६ जेष्ठ २०७८, बुधबार ११:३२


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिनुभएको छ ।

पाठ्यक्रम विकास तथा मुल्याङकन परिषद्को बुधबार बसेकाे भर्चुअल बैठकमा मन्त्री श्रेष्ठले त्यस्ताे निर्देशन दिनुभएकाे हाे । केही निजी प्रकाशकले लिपुलेक,लिम्पियाधुरा, कालापानी समेटिएकाे नयाँ संस्करण नराखी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेकाे खुलेपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिनुभएको हो । मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर कडा कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएकाे हाे ।

सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार कारबाही गर्न मन्त्री श्रेष्ठले आग्रह गर्नुभयाे । प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाइएकाे बताउँदै मन्त्री श्रेष्ठले भन्नुभयाे – ‘तपाईंहरुले अनुगमन गर्नुस, देशको स्वाभिमानमा आच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस् ।’

मन्त्री श्रेष्ठले सरकारले जारी गरेको चुच्चे नक्सा नराखी प्रकाशन गर्ने पुस्तक व्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिनुभयाे ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखेर नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिनुभयो । सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटी भएको भन्दै उहाँले त्यस्तामाथि कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।

केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्रि गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रक्रिया थालिने जानकारी दिनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !