२९ कार्तिक २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतले सडक बनाउँदा नेपालकाे बाटाे भत्कियाे

प्रकाशित मिति :  २७ जेष्ठ २०७८, बिहीबार ०५:२८


दार्चुला । भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ढुंगा आएर बाटो अवरुद्ध भएको छ ।

मंगलबार दिउँसो व्यास गाउँपालिका–२ को कल्जु क्षेत्रमा भारतले सडक निर्माणका क्रममा विस्फोट गराउँदा तम्बाकु क्षेत्रमा बाटो अवरुद्ध भएको स्थानीयवासी मुकेश बुढाथोकीले जानकारी दिनुभयो । प्रहरी चौकी दुम्लीङबाट करिब दुई सय मिटर उत्तरी क्षेत्रमा पर्ने तम्बाकु क्षेत्र नजिकै नेपालतिरको बाटो पूरै अवरुद्ध भएको छ । भारतको सडक निर्माणका क्रममा आएको पहिरो नेपालतिर पुगेको हो । स्थानीय र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको घोरेटो बाटो पूर्णरूपमा भत्किएको छ । घोरेटो बाटो भत्किँदा नेपालतिरको आवतजावत पूर्णरूपमा बन्द भएको बुढाथोकीले बताउनुभयो ।

भारतले धार्चुला लिपुलेक मानसरोवर सडक दुई लेनको बनाउनका लागि हाल गर्वाधार क्षेत्रमा चट्टान काटिरहेको छ । भारतले सडक निर्माणका क्रममा अत्यधिक जिलेटिनको प्रयोग गर्ने भएकाले बेलाबेलामा नेपालतर्फको बाटो अवरुद्ध हुने गरेको छ ।

दुम्लीङदेखि बुदीसम्म भारतले सडक विस्तार र निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेर नेपालतिर क्षति पुर्‍याएको छ । ढुंगाहरु ठाउँठाउँमा नदीमा मिसिएर थुनिएका छन् । ठाउँठाउँमा भारतबाट आएका ढुंगा महाकाली नदीमा गएर नदीको धार परिवर्तन गरेको  छ । अहिले मात्र नभई विगतदेखि नै भारतले सडक निर्माणका क्रममा नेपालतिरको भूगोलमा क्षति पुर्‍याउने गरेको छ । भारत सरकारले महाकाली नदी किनारै किनार भएर सडक निर्माण गरेको छ । यसबाट अधिकांश ढुंगाले नदी थुनिने र नेपालतिर क्षति पुर्‍याउने गरेको छ ।

भारतीयले सडक निर्माणका क्रममा ढुंगा आएर अवरुद्ध भएको छाङरु जोड्ने नेपालतिरको घोरेटो बाटो प्रहरी र स्थानीयवासीको सक्रियतामा निर्माण सुरु गरिएको  छ । अवरुद्ध भएको एक सय ५० मिटर बाटो प्रहरी चौकी दुम्लीङका प्रहरी सहायक निरीक्षक जनकबहादुर सिंह तथा स्थानीयवासीको सक्रियतामा निर्माण शुरु गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो सक्रियताले मात्रै पूर्णरूपमा सञ्चालन हुने अवस्था छैन तर पनि अस्थायीरूपमा मान्छे हिँड्डुल गर्न मिल्ने गरी काम हुँदैछ ।’

कल्जु तम्बाकु क्षेत्रमा घोरेटो बाटो अवरुद्ध हुँदा व्यासको छांगरु र तिंकर आवतजावतसमेत बन्द भएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !