यसरी असफल भएको थियो केपी ओलीको हत्या गर्ने त्यो प्रयास
दमक । केपी शर्मा ओलीको हत्या गर्न बागमती प्रदेश संसद्बाटै गरिएको अपिलको जनस्तरबाट व्यापक विरोध भयो । त्यसपछि त्यस्तो अपिल फिर्ता भएको छ ।
तर, विगतमा केपी ओलीको हत्या गर्ने प्रयास कसरी कसरी गरिएको थियो भन्ने तथ्य भने धमाधक सार्वजनिक हुन थालेको छ ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मार्न विगतमा माओवादीले धेरै पटक प्रयास गरेको थियो ।
बागमती प्रदेश सभाको बैठकमा कांग्रेस सांसद् नरोत्तम वैद्यले ओलीलाई कसैले मारोस्, मार्दैन भने म आफैं मार्ने घोषणा गर्नुभयो । पछि, घोषणा फिर्ता पनि लिनुभयो । यो प्रकरणपछि विगतमा ओलीलाई मार्न गरिएका विभिन्न प्रयासको सम्झना झापामा गर्न थालिएको छ । झापा जिल्ला केपी ओलीको गृह जिल्ला पनि हो ।
झापाका स्थानीय राजनीतिकर्मीहरुका अनुसार ०५६ सालमा एमाले र माले विभाजित भएपछि सीपी मैनालीको समूहले ओलीलाई मार्ने नियतले धेरै ठाउँमा आक्रमण गरेको थियो । ‘माई नदी तरेर उता अर्थात् सुरुङगा–बिर्तामोडतिर गए ओलीको हत्या गर्ने भन्दै तत्कालीन मालेका कार्यकर्ता ढुकेर बसेका थिए’– बिर्तामोडका नरेन्द्र कार्की सम्झनुहुन्छ ।
०६३ मा माओवादी खुला राजनीतिमा आएपछि माओवादीले मार्न चाहेको मुख्य पात्र ओली हुनुहुन्थ्यो । किनभने त्यसबेला पनि माओवादीको दादागिरी र अत्याचार विरुद्ध प्रखर रुपमा बोल्ने केपी ओली मात्र हुनुहुन्थ्यो ।
पहिलो संविधान सभा चुनावमा माओवादीले ओलीको ज्यानै लिने धम्की दियो । ओलीलाई उम्मेदवारी त्याग्नु भनेर आदेश समेत जारी गरेको थियो । केन्द्रदेखि जिल्ला र गाउँसम्मका माओवादीले त्यसबेला राजालाई भन्दा ओलीलाई धेरै गाली गर्थे ।
त्यस्तो बेला २०६४ साल चैत ११ गते ओलीको प्राण लिने गरी झापाको चन्द्रगढीमा माओवादीले हमला गरेको थियो । त्यो घटनाका एक साक्षी हुनुहुन्थ्यो नम चेम्जोङ । राष्ट्रिय युवा संघका नेता नम चेम्जोङ सो घटनाका बेला ओलीको साथमा हुनुहुन्थ्यो ।
त्यो हत्या प्रयाशको वर्णन नम चेम्जोङकै शब्दमा यहाँ प्रस्तुत छ :-
त्यसबेला जंगलको माओवादी गाउँ तथा सहर पसेपछि अत्याचार झन् बढ्न थाल्यो । लुटपाट र कुटपिट गर्न थाले । विचार नमिल्नेलाई आक्रमण गरिहाल्थे । भनेको नमान्ने र चन्दा दिन नमान्नेलाई मार्न पनि पछि पर्दैनथे । उनीहरुको साथमा आधुनिकदेखि कटुवा बन्दुक समेत थियो ।
माओवादी विरुद्ध कसैले बोल्न सक्ने अवस्था थिएन । केपी ओली बाहेक एमालेका नेताहरु माओवादीसँग थरथरी काम्थे, माओवादी अत्याचार विरुद्ध मुख खोल्न सक्दैनथे । झापामा पनि माओवादीले भिषण आतंक मच्चाइरहेको थियो । त्यसबेला एमालेको हस्ती भनाउँदा जिल्ला–क्षेत्रका धेरैजसो नेताहरु केपी ओलीको साथमा हिँड्न बस्न डराउँथे । किनभने कुनै पनि बेला केपी ओलीलाई बम बन्दुकले आक्रमण हुन्छ र आफू पनि मारिन्छु भनेर डराउँथे । त्यसबेला रोमनाथ ओली, होमबहादुर थापा, अम्बिका खनाल, गोविन्द थापा, आरके खनाल, बेनु शिवाकोटी लगायतका केही नेता मात्र केपी ओलीको साथमा हुन्थे ।
तपाईंले सोध्नुभएको हत्या प्रयासको घटना चन्द्रगढीबाट बनियानी जाँदा भएको हो । त्यो ठाउँ चन्द्रगढीबाट पाँच मिनेट पर, भद्रपुर नजिकमा भएको हो ।
म अलिकति त्यो घटनाको पृष्ठभूमि भन्छु । त्यसबेला केपी ओलीको सुरक्षामा कार्यकर्ताको हाम्रो टिम चौबिसै घन्टा बस्थ्यौं । ओली कमरेड आफूलाई सुरक्षा दिएको मन पराउनु हुन्नथ्यो । उहाँ असाध्यै आँटिलो नेता हो, उहाँको मुटुको शब्दकोषमा डर भन्ने शब्द छैन । उहाँले नमाने पनि हामी सुरक्षा दिन्थ्यौं । हामीले पाँचसात वटा टोली बनाएका थियौं । प्रत्येक टोलीको कमाण्डिङ मैले गर्ने गरेको थिएँ । चौबिसै घन्टा कडा निगरानीसाथ सुरक्षा दिन्थ्यौं । कतिबेला कताबाट माओवादी आएर बम बन्दुक हान्छन् भनेर सुरक्षा अति कडा पारेका थियौं । केपी ओलीलाई मार्न सफल भए भने माओवादीले यो देश खान्छ, बरबाद बनाउँछ भन्ने हाम्रो चिन्ता थियो । विकास र समृद्धिको सपना केपीले त्यसबेलै सुनाउनुहुन्थ्यो । केपी मारिनुभयो भने यो देशको विकास र समृद्धिको सपना कहिले पूरा हुँदैन भनेर हामी उहाँलाई बचाउन लागिपरेका थियौं । आफू मरेर पनि उहाँलाई बचाउन त्यतिबेला पनि तयार थियौं, अहिले पनि तयार छौं ।
अहिले पनि म भन्छु– केपी ओली मरे देश बनाउने सपना पनि मर्छ । त्यसैले ओलीलाई बचाउनु पर्छ । केपी ओलीलाई मार्ने उनीहरुको प्रयास सफल हुन दिनु हुँदैन ।
केपी ओलीलाई मारेरै छाड्छौं भनेर माओवादीले धम्की दिइरहेका थिए । केन्द्रमा प्रचण्ड बाबुरामहरुले पनि केपी ओलीको चरित्र हत्या गर्थे, ओलीलाई आमाचकारी भन्थे । ओलीलाई मारे पनि हुन्छ भनेर प्रचण्ड बाबुरामले घुमाउरो पाराले भाषण गर्थे । झापाका माओवादीहरु पनि ओलीलाई मार्नुपर्छ भनेर हिँडेका थिए । त्यस्तो अवस्था भएकाले हामीले केपी ओलीको सुरक्षा छाडेनौं । विभिन्न ठाउँका कार्यक्रममा सँगै जान्थ्यौं । जहाँ गए पनि माओवादीले कार्यक्रम विथोल्न खोज्थे । कुनै पनि बेला आक्रमण गर्छन् भन्ने हामीले बुझेका थियौं । माओवादीको २५–३० जनाको गिरोहले हाम्रो निरन्तर पिछा गरिरहन्थ्यो । हामी जुन कार्यक्रममा जाने हो त्यहाँ अगाडि नै पुगेर स्थानीयलाई कार्यक्रममा सहभागी नहुनु भनेर धम्काउँथे, थर्काउँथे ।
बनियानी जाने क्रममा दिउँसो हामी बिर्तामोडमा थियौं । खाजा खाँदै गर्दा माओवादीको एउटा टोली आयो । एकजना माओवादी करायो– आज केपी ओलीको जीवनको अन्तिम दिन हो । त्यस्तो धम्की जतिखेर पनि दिन्थे, त्यहाँ पनि दिए । त्यही दिन मार्न खोज्छन् भन्ने मलाई लागेको थिएन । तर, साथमा रहनुभएका कमरेड गोविन्द थापाले कुरा बुझिसक्नुभएको रहेछ । दमक क्याम्पसमा म स्ववियु सहसचिव हुँदा गोविन्द थापा सभापति हुनुहुन्थ्यो ।
खाजा खाएर हिँड्न लाग्दा गोविन्द थापाले सुरक्षा रणनीति फेर्नुभयो । केपी ओलीलाई पहिले चढेको मोटर चढ्न दिनुभएन । उहाँले केपी ओलीको मोटर फेरिदिनुभयो । पहिले सेतो गाडी चढ्नुभएको थियो । गोविन्दले अब रातो गाडिमा राख्नुभयो । हामी कार्यकर्ता टोली केपी ओली चढ्नुहुने गाडीमा चढ्यौं, हामी चढ्ने गाडीमा चाहिँ केपी ओली र गोविन्द थापा चढ्नुभयो ।
चन्द्रगढीबाट बनियानी जान अगाडि बढेपछि वरिपरि धेरैवटा मोटरसाइकल आए । माओवादीको झण्डा बोकेका उनीहरु हाम्रो बाटो छेक्दै हाम्रो मोटरसाइकल र्यालीलाई किन डिस्टर्ब गरेको भन्दै निहुँ खोज्दै थिए । उनीहरुको त्यहाँ मोटरसाइकल र्याली थिएन, अन्तै थियो । तर, केपी ओलीलाई मार्नुपर्छ भन्दै त्यता आएका रहेछन् ।
गोविन्द थापाले त्यहाँ पनि तत्काल सुरक्षा रणनीति फेर्नुभयो । केपी ओली र उहाँको मोटर अगाडि लैजानुभयो, हामीलाई पछाडि आउन भन्नुभयो । केपी ओलीको मोटरलाई हामीले सधैं बीचमा हिँडाउने गरेका थियौं, हामी अगाडि पछाडिको मोटरमा हिँड्थ्यौं । त्यो बेला गोविन्द थापाले माओवादीको नियतमा शंका गरिसक्नुभएको रहेछ ।
चन्द्रगढीबाट पाँच मिनेट पर भद्रपुर छेउमा पुगेपछि मोटरसाइकल र्यालीले आफ्नो असली नियत देखायो । ढुंगामुढा गर्दै उनीहरु हाम्रो मोटरतिर अगाडि बढे । हाम्रो मोटर घेरा हाले ।
उनीहरुले भने– हाम्रो बाइकलाई किन ठक्कर दिइस् ? हामीले केही सोचविचार गर्नै पाएका थिएनौं, दुईतिर झ्यालबाट दुईजनाले दुईटा पेस्तोल भित्र तेर्साइहाले ।
‘केपी ओली खोई ? यहाँ किन छैन ओली ? यो मोटरमा हुनुपर्ने हो ।’– उनीहरुले सोधे ।
हाम्रो पछाडि कार्यकर्ता साथीहरुको अरु एकदुई वटा मोटर थियो । उनीहरुले मोटर तोडफोड गर्न थाले । तर, हाम्रो अगाडि रहेको केपी ओली चढ्नुभएको मोटर मैले देखिन । म आत्तिएँ । यिनीहरुले ओलीलाई पेस्तोल हाने होलान् भनेर आत्तिएँ । हामी मोटरबाट तल झर्यौं । हामीले प्रत्याक्रमण सुरु गर्यौं ।
केपी ओली र गोविन्द थापा चढ्नुभएको मोटर हामीभन्दा धेरै पर रोकिएको थियो । पेस्तोल भएको टोली हामी भएको ठाउँमा थियो, त्यहाँ रहेनछ । नत्र केपी ओलीलाई गोली नै हान्थे । पेस्तोल नभएको टोली भए पनि मार्न पूरै प्रयास गर्यो । दुई तीन केजीको ढुंगा उचालेर मोटरमा हान्न थाले । त्यसबेलाका माओवादी कस्ता भने ढुंगा हान्ने पनि तालिम लिएका हुँदा रैछन् ।
केपी ओली चढ्नुभएको मोटरको सिसा फुटाए, भित्र पस्न खोजेका थिए तर मोटर बेगसँग अगाडि बढाएर बचाउन सफल भइयो । हामी ढुंगामुडाको बीचमा अगाडि बढ्यौं । पछाडि दुईतीनपटक गोली चलेको जस्तो आवाज सुनियो ।
त्यतिन्जेल स्थानीयवासी पनि आइसकेका थिए । अलि पर गएर एउटा चौरजस्तो ठाउँमा हामी रोकियौं । त्यहाँ पनि केपी ओलीलाई माछौं भनेर नारा लगाउँदै आएका थिए । तर, स्थानीयवासी र हाम्रो सुरक्षाका कारण उनीहरु केपी ओलीलाई मार्न सफल हुन सकेनन् ।
गोविन्द थापाले त्यो दिन केपी ओलीलाई एउटा मोटरको सट्टा अर्काे मोटरमा नलैजानुभएको थियो भने मार्ने नै रहेछन् । केपी ओली कुन मोटरमा चढेर आउनुहुन्छ भन्ने पहिले नै सूचना लिइसकेका रहेछन् । धन्न, त्यो दिन केपी ओलीलाई हामीले बचायौं । केपी ओलीलाई हात र गालामा सामान्य चोट मात्र लाग्यो ।
त्यो दिन सम्झँदा आज पनि मेरो रगत उम्लिएर आउँछ । त्यो दिनको अर्काे कुरा पनि म भन्छु । त्यसको भोलिपल्ट पुष्पकमल दाहाल प्रचण्ड झापा आउँदै हुनुहुन्थ्यो । प्रचण्डले झापा टेक्नु अगाडि नै केपी ओलीलाई मार्छाैं भन्दै माओवादीहरु हिँडेका थिए ।
बनियानी जाँदाको जुन आक्रमणको म कुरा गर्दैछु, त्यति ठूलो आक्रमण भएको धेरै बेरपछि मात्र प्रहरी टोली सुरक्षाका लागि आइपुगेको थियो । हुनत केपी ओलीको साथमा एकजना सुरक्षाकर्मी पनि थिए । त्यसबेला माओवादीका अगाडि प्रहरी निरीह हुन्थे, केही गर्न सक्दैनथे । कांग्रेस र एमालेका शीर्ष नेताहरुले नै माओवादीलाई अत्याचार गर्न छुट दिएकाले प्रहरीको केही चल्दैनथ्यो ।
आक्रमणपछि बनियानीको कार्यक्रम पुग्यौं । त्यहाँ पनि कार्यक्रम विथोल्न आएका थिए तर स्थानीयको ठूलो उपस्थितिका कारण विथोल्न सकेनन् । कार्यक्रममा ओलीले एक घन्टा भाषण गर्नुभयो । माओवादीको आतंककारी क्रियाकलापको असाध्यै कडासँग विरोध गर्नुभयो । मलाई आज मार्न सकेनन्, मलाई मारे भने त्यसको तत्कालै जनताले यो देशमा माओवादी पार्टीको जरा उखेल्छन् भन्नुभयो । उहाँले त्यहिँबाट प्रचण्ड र बाबुरामलाई बधाई समेत दिनुभयो । आज मलाई मार्न सफल हुनुभएको थियो भने आजकै मितिबाट तपाईंहरुको राजनीति समाप्त हुन्थ्यो, धन्न सफल हुनुभएन, तपाईंहरुको राजनीति अब केही समय चल्छ, त्यसैले तपाईंहरुलाई बधाई छ भन्नुभयो ।
ओलीको त्यो भनाईमा हामीले जोडसँग ताली बजाएको सम्झन्छु । भाषणकै बीचमा हामीले नारा लगायौं– माओवादीसँग गोली छ, हामीसँग ओली छ । हाम्रो अर्काे नारा थियो– गोलीभन्दा ओली बलियो । त्यसपछिको दिनमा गोलीभन्दा ओली बलियो भन्ने प्रमाणित हुँदै गयो, हिँसात्मक राजनीतिभन्दा शान्तिपूर्ण राजनीतिले नै जित्छ भन्ने प्रमाणित हुँदै गयो । अहिले पनि माओवादीले हिँसात्मक राजनीति छाडेको छैन, हिँसाको स्वरुप भने फरक छ । माओवादीको हिँसात्मक विचार प्रचण्ड पथको फन्दामा नेपाली कांग्रेस पनि फस्दै गएको छ ।
केपी ओलीलाई मार्नुपर्छ भन्नेमा कांग्रेस पनि पुगेको छ, कांग्रेसका सांसद् नरोत्तम वैद्यको विचार उहाँको व्यक्तिगत मात्र होइन, कांग्रेस र माओवादीको साझा विचार हो । बोलि मात्र फिर्ता लिएका हुन्, नियत फिर्ता लिएका छैनन् । त्यसैले यो देश बचाउने हो भने केपी ओलीको सुरक्षा अझ कडा पारिनुपर्छ ।