१ माघ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

ट्यांकर चालकले रोके पेट्रोलियम पदार्थको ढुवानी

प्रकाशित मिति :  ३१ जेष्ठ २०७८, सोमबार १४:३७


काठमाडौंं । कोरोनाविरुद्धको खोप उपलब्ध नभएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघले पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका छन् ।

पकटपटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालकहरुले आइतबारदेखि ढुवानी बन्द गरेका हुन् । यसबाट निजी पम्पहरु प्रभावित भएका छन् । सरकारले अत्यावश्यक सेवामा बन्द, हड्ताल गर्न नपाउने गरी कानून लागु गरेको स्थितिमा ढुवानी बन्द भएको छ ।

चालक संघका अध्यक्ष इश्वर लामाले आइतबारदेखि बरौनी, अमलेखगञ्ज क्षेत्र तथा आन्तरिक ढुवानी रोकिएको जानकारी दिनुभयो । ढुवानीकर्ताको अवरोधका कारण आज पनि प्रदेशभरको आपूर्ति प्रभावित भएको आयल निगमको बागमती प्रादेशिक डिपो थानकोटले जनाएको छ ।

मंगलबारदेखि निषेधाज्ञामा केही खुकुलो भएसगैँ पेट्रोलियम पदार्थको अभाव हुन सक्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनले जनाएको छ । आइतबारदेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकिदा मंगलबारदेखि अभाव हुनसक्ने एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा एक सय ७६ वटा निजी पेट्रोल पम्प सञ्चालनमा छन् ।

सिसीएमसीसँग खोप माग

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तु तथा सेवा प्रवाह गर्ने व्यवसायीलाई खोप उपलब्ध गराउन माग गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रलाई पत्र लेख्दै उद्योग मन्त्रालयले पेट्रोल तथा ग्यास व्यवसायीलाई लगाउन एक लाख ५७ हजार पाँच सय ९६ डोज खोप उपलब्ध गराउन माग गरेको छ ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय महासंघलाई १० हजार तीन सय ४६ डोज, नेपाल ट्रक यातायात व्यवसायी महासंघलाई एक लाख ४० हजार डोज र ग्यास बिक्रेता महासंघलाई चार हजार ६ सय डोज खोप उपलब्ध गराउन मन्त्रालयले माग गरेको छ ।

यस्तै, नेपाल पेट्रोलियम ट्यांकर चालक संघ थानकोटलाई १५ हजार, नेपाल आयल निगमलाई एक हजार डोज र साल्ट ट्रेडिङ कर्पोरेशनलाई एक सय ५० डोज खोप उपलबध गराउन माग गर्दै मन्त्रालयले सोमबार कोभिड संकट व्यवस्थापन केन्द्रलाई पत्र लेखेको हो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !