२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बिपी प्रतिष्ठानमा २० कोरोना संक्रमितको जटिल शल्यक्रिया

प्रकाशित मिति :  ३ असार २०७८, बिहीबार ११:४०


धरान । कोभिड—१९ महामारीको दोस्रो लहर सुरु भएयता एक महिनाको अवधिमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २० कोरोना संक्रमितको शल्यक्रिया भएको छ ।

ती शल्यक्रियाहरु जटिल किसिमका रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएयता गत वैशाख २७ गतेदेखि प्रतिष्ठानको कोभिड अस्पतालमा शल्यक्रिया सुरु गरिएको थियो । जेठ अन्तिमसम्म २० वटा शल्यक्रिया भएको छ ।

प्रतिष्ठानका न्यूरो सर्जन डा.आलोक दाहाललगायतको टोलीले तीन वटा न्यूरोसम्बन्धी जटिल शल्यक्रिया गरेको छ । टोलीले अचेत अवस्थामा आएका, आँखा खोल्न नसकेका, टाउकोमा रगत जमेका र हातखुट्टा नचलेका बिरामीहरुको सफल शल्यक्रिया गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार जनरल सर्जरीबाट प्रा.डा. राकेश गुप्ता, डा.सुरेशप्रसाद साह, डा. निर्मल साह, डा.रुपेश प्रसाद साह, डा. भवानी खनाल, डा. विजय श्रेष्ठलगायत चिकित्सक टोलीले सात वटा जटिल किसिमका शल्यक्रिया गरेका छन् । तीमध्ये चार वटा सानो आन्द्राको, दुईवटा एपेन्डिक्सको र एक वटा ठूलो आन्द्राको शल्यक्रिया भएको सहप्रवक्ता डा।पोखरेलले जानकारी दिनुभयो ।

यसैगरी प्रतिष्ठानका कार्डियो भास्कुलर सर्जन डा. लोकेश शेखर जैसवाल तथा जेनेरल सर्जन डा. सुरेश प्रसाद साहको टोलीले १२ इन्च लामो रडले करङको हाडलाई छेडेर फोक्सो र मुटुमा चोट पुर्‍याएका संक्रमित बिरामीको पनि जटिल शल्यक्रिया गरेको थियो । त्यसैगरी प्रतिष्ठानको नाक, कान, घाँटी विभागका डा. शंकरप्रसाद साह र डा. ऋषिराज साहको टोलीले एक जना संक्रमित बिरामीको घाँटीमा अड्किएको हड्डी सफलतापूर्वक निकालेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार गाइनो विभागका चिकित्सकहरुले संक्रमित बिरामीहरुको आठ वटा शल्यक्रियामार्फत डेलिभरी गरिएको थियो भने ९ वटा नर्मल डेलिभरी गरिएको थियो । तीमध्ये पाँच वटा डा। दिप्ती दास, दुई वटा डा. मदन खड्का र एक वटा डा. मनोज साहले गर्नुभएको थियो ।

—रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !