२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

महामारीका कारण याेगकाे महत्व बढेकाे छ-राष्ट्रपति भण्डारी

प्रकाशित मिति :  ७ असार २०७८, सोमबार ०६:००


.

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले काेभिड-१९ महामारीका कारण याेगकाे महत्व अझ बढेकाे बताउनु भएकाे छ ।

अन्तर्राष्ट्रिय योग दिवसकाे अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले महामारीका कारण शारीरिक र मानसिक सुस्वास्थ्यका लागि योगको सान्दर्भिकता अझ बढेकाे उल्लेख गर्नुभएकाे छ । ‘यस वर्षको अन्तर्राष्ट्रिय योग दिवस हामी कोभिड–१९ महामारीद्वारा सिर्जित विषमताका बीचमा मनाउन गइरहेका छौं, यस महामारीका कारण आम रूपमा मानिसको भौतिक जीवन र शारीरिक स्वास्थ्य मात्र प्रभावित भएको छैन‚ अवसाद र चिन्ता जस्ता मानसिक समस्या समेत देखा परेका छन्, जसका कारण शारीरिक र मानसिक सुस्वास्थ्यका लागि योगको सान्दर्भिकता अझ बढ्न पुगेको छ’- सन्देशमा उल्लेख छ ।

नेापली योग गुरुहरू र अध्येताहरूले बताएअनुसार नेपाल योगको भूमि रहेकाे र नेपालमा उद्‍भव भएका शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएका राष्ट्रपतिले उल्ले गर्नुभएकाे । याेगका अध्येताहरुका लागि नेपाल विश्वकै मूल गन्तव्य बन्ने उल्लेख गर्दै उहाँले लेख्नुभएकाे छ -‘नेपालको सांस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका प्राचीन भवन र शहरको निर्माणमा पनि योग र तन्त्रमा आधारित ज्ञान–विज्ञान एवं वास्तु शिल्पको प्रयोग गरिएको देखिन्छ, हाम्रा मठमन्दिर, मूर्तिकला र चित्रकलामा समेत योगको प्रभाव छ । ढुङ्गेधारा, कुवा, इनार र राजकुलोका निर्माणमा पनि योग र तन्त्रको ज्ञानलाई प्रयोग गरिएको देखिन्छ, यसैले योगलाई  नेपाली पूराविद्याको एउटा महत्त्वपूर्ण विधाको रूपमा मानिएको हो, यस ऐतिहासिक पक्षका कारण योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताहरूका लागि नेपाल विश्वकै मूल गन्तव्य बन्न सक्दछ भन्ने मलाई लागेको छ ।’

नेपाली योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउनेतिर यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसले हामी सबैलाई प्रेरित गर्दै नेपालकाे राष्ट्रिय गौरव सदैव जीवित राख्न याेग दिवसबाट प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपतिले गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति‚ समृद्धि तथा सुस्वास्थ्यको शुभकामना पनि दिनुभएकाे छ ।

संयुक्त राष्ट्रसंघले सन् २०१४ को डिसेम्बर ११ मा हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउने घोषणा गरेपछि नेपालकाे समृद्ध परम्परा एवं जीवन दर्शनसँग सम्बन्धित रहेको योगले विश्वव्यापी सम्मान प्राप्त गरेको राष्ट्रपतिले उल्लेख गर्नुभएकाे छ । योग एक शारीरिक‚ मानसिक एवं आध्यात्मिक अभ्यास तथा निश्‍चित नियम, विधि र प्रक्रियामा आधारित वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति समेत रहेकाे सन्देशमा उल्लेख छ ।

स्वस्थ्यकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्‍याउँने उल्लेख गर्दै राष्ट्रपतिले लेख्नुभएकाे छ -‘शरीरलाई स्वस्थ्य र फूर्तिलो बनाउने तथा मनलाई शान्त बनाउने उपायका रूपमा योगाभ्यासको उल्लेख हाम्रा प्राचीन ग्रन्थहरूमा भएको छ, योगको नियमित अभ्यासबाट व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ हुनुका साथै तनावबाट मुक्त भई कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, सकारात्मक सोचको विकास हुने, अनुशासन र आन्तरिक उर्जा प्राप्त  हुने र आत्मप्रेरणा हासिल हुने लगायत सकारात्मक गुणको विकास हुन्छ ।’

‘मानव सुस्वास्थ्यको लागि योग’ भन्ने राष्ट्रिय नारा साथ आज नेपालमा पनि अन्तर्राष्ट्रिय योग दिवस मनाईंदैछ । सरकारले योग दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षता मुख्य समारोह समिति गठन गरेको छ । काेभिड जाेखिमका कारण समितिले आज दिवस भर्चुअल माध्यमबाट मनाउँदैछ । आज प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आतिथ्यतामा भर्चुअल माध्यममार्फत कार्यक्रम गर्न लागिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !