७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

शुक्लागण्डकी नगरमा मुक्तिनाथको झल्को दिने गरी कृत्रिम हिमाल निर्माण

प्रकाशित मिति :  १६ असार २०७८, बुधबार ०७:२०


तनहुँ ।  शुक्लागण्डकी नगरपालिकामा प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा रहेको हिमालको जस्तो झल्को दिने गरी कृत्रिम हिमाल निर्माण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँद्वारा शुक्लागण्डकी–२ स्थित च्यवनधाम परिसरमा मुक्तिनाथको जस्तै कृत्रिम हिमाल निर्माण गरिएको हो ।

च्यवनधाम परिसरमा १०८ धारा निर्माण गरी धारामाथि माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्णलगायतका हिमालको आकृति कुँदेर रमणीय स्थल निर्माण गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । धाम परिसर क्षेत्रमा सौन्दर्य अभिवृद्धि तथा पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि कृत्रिम  हिमाल निर्माण गरिएको हो । उहाँले भन्नुभयो, ‘यस कार्यका लागि गण्डकी प्रदेश सरकारको २० लाख रुपैयाँ आर्थिक सहयोग रहेको छ भने  स्थानीय तहको १० प्रतिशत लागत सहभागिता रहेको छ ।’

कृत्रिम हिमशृङ्खला र १०८ धारा निर्माण पछि ‘मिनी मुक्तिनाथ’ उपनामले परिचित बन्दै गएको मुक्तिनाथ–शुक्लागण्डकी च्यवनधामका अध्यक्ष  सुमेन्द्र लालचन बताउनुभयो । ०६५ मा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले अधिग्रहण गरी २३ रोपनी जमीनमा बस्ती बसाउन खोजेपछि स्थानीय बासिन्दाको सक्रियतामा धाम निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

सार्वजनिक जमीनको संरक्षण गरी पर्यटकीयस्थलको पूर्वाधार निर्माण गर्न सबै क्षेत्रबाट सहयोग मिलेको धामका सचिव दुर्गादत्त सापकोटा बताउनभुयो । सेती नदीको किनारमा तपोभूमि क्षेत्र भएकाले धार्मिक तीर्थस्थल बनाउने उद्देश्यअनुरूप पूर्वाधार निर्माणको लागि खर्च जुटाउन तीन वर्षअघि महायज्ञ गरी रु एक करोड ५० लाख सङ्कलन गरिएको थियो ।

सङ्कलित रकमबाट मन्दिरमा पूर्वाधार निर्माणको कार्य अघि बढाइएको हो । उहाँले भन्नुभयो, ‘च्यवनधाम परिसरमा अहिले आकर्षक शुक्लेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ । मन्दिरको छानो तामाको राखिएको छ ।’
शुक्लेश्वरको आसपासमा सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी, गणेशको मन्दिरलगायतका संरचना छन् । मुक्तिनाथको जस्तै झल्को दिने गरी १०८ धारा, १०८ ओमकार कल्पवृक्ष, १०८ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्कलगायतका संरचना निर्माण गरिएको छ ।

च्यवनधाम परिसरमा बौद्ध गुम्बा पनि रहेको छ । एक अर्काको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने उद्देश्यले गुम्बा निर्माण गरिएको हो । एक दशकको अवधिमा रु तीन करोडभन्दा बढी पूर्वाधार निर्माणमा लगानी भइसकेको समितिले जनाएको छ ।

सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्तरूपमा बजेट उपलब्ध गराउँदै आएका छन् । च्यवनधाममा पूर्वाधार थप्दै गएपछि आन्तरिक पर्यटकको उत्कृष्ट गन्तव्यस्थल बन्ने विश्वास गरिएको छ । धाम क्षेत्रमा मिनी चिडियाखाना बनाउने दीर्घकालीन योजना रहेको समितिका उपाध्यक्ष अर्जुन लम्सालले बताउनुभयो ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !