२७ आश्विन २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कमलासहित विभिन्न नदीमा बाढी

प्रकाशित मिति :  १७ असार २०७८, बिहीबार ०३:४९


काठमाडौं । काठमाडाैं उपत्यकासहित देशका धेरै ठाउँमा बुधबार रातिदेखि ठूलाे पानी परिरहेकाे छ ।

निरन्तर पानी पर्दा साना र ठूला नदीहरुमा जलसतहले खतराकाे तह पारेकाे जल तथा माैसम विभागकाे बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार तनुहुँ, चितवन, सिन्धुली, सिन्धुपाल्चोक, धनुषा र सिरहाका नदीहरुमा बाढी आएकाे छ ।

सिन्धुलीको कमला नदी बाढी आएकाे छ । कमला नदी-धनुषा-तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा माथि पुगेको महाशाखाले जनाएको छ । ‘सिन्धुली जिल्लास्थित कमला नदी,रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेकाले, धनुषा,सिराहा लगायत तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा रहनुहुनेहरू रातिसम्मै सतर्कता साथ सुरक्षित स्थानमा रहुनुहोला’- सूचनामा लेखिएकाे छ ।

सिन्धुलीस्थित मरिनखोला कुसुन्तार बर्षामापन केन्द्रमा भारी बर्षामापन भएको महाशाखाले जनाएकाे छ । मरिन कुसुन्तार,बागमती राइगाउँ,पधेरादोभान लगायत बाढीमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेकाले उक्त जलाधारका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा आज दिउँसो सम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

महाशाखाले सिन्धुपाल्चोकका शेर्माथाङ्ग, धाप र चौतारा वर्षामापन केन्द्रमा हिजो बेलुका देखि लगातार ठूलाे पानी परेकाे र पानी पर्ने सम्भावना कायमै रहेकाले मेलम्ची बजार लगायत तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेकाे छ ।

बाराको कलैया वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ । पसाह, फेटा लगायत नदीहरूमा आकस्मिक बहाव आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !