१७ चैत्र २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विपद्‍बाट हुन सक्ने क्षति राेक्न पूर्व तयारी थाल्नु– उपप्रधान तथा गृहमन्त्री पौडेल

प्रकाशित मिति :  1 July, 2021 10:37 am


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपद्‍बाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न निर्देशन दिनु भएको छ ।

गृह मन्त्रालयमा आज बसेको विपद् सम्बन्धी बैठकमा उपप्रधान तथा गृहमन्त्री पौडेलले उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न पनि निर्देशन दिनुभयाे । उहाँले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जत जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न निर्देशन दिनु भएको हो ।

विपद्का कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने भन्दै उहाँले प्रभावकारी र नतिजामुखी भएर काम गर्न पनि सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभयो ।   राहत र उद्धारका लागि स्रोतको अभाव नहुने जानकारी दिँदै उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपद्का घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनाहरुलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

राहत र उद्धारका लागि अन्तरमन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनु पर्ने भन्दै उहाँले कोही छुट्ने र कोही दोहोरिने स्थिति सिर्जना नहुने वातावारण सिर्जना गर्न पनि आग्रह गर्नु भयो । क्षति न्यूनीकरणका लागि एकीकृत कार्य योजना ल्याउने तयारी भइरहेको जानकारी पनि उहाँले दिनुभयाे । अवरुद्ध भएका सडक सञ्चालनदेखि पुनर्स्थापना र पुनर्निर्माणका लागि समय तालिका बनाएर काम गर्न गृहमन्त्री पाैडेलले  निर्देशन दिनुभयो ।

उहाँले क्षति भएका ठाउँमा व्यवस्थित पुनर्निर्माणका लागि पनि योजना बनाएर काम गर्न निर्देशन दिनुभयो । उपप्रधान तथा गृहमन्त्रीले तत्काल गर्नुपर्ने तयारी साथसाथै विपद्बा‍ट जोगिन दीर्घकालीन रुपमा गर्नुपर्ने कामलाई अघि बढाउन पनि निर्देशन दिनुभयो ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानले कोषमा पाँच अर्ब भन्दा बढी रकम रहेकाले राहत र उद्धारमा स्रोतको कमी नहुने बताउनुभयो । उहाँले क्षति, उद्धार र राहतमा भएका कार्यहरु, अवरुद्ध सेवा सञ्चालन, प्रभावकारी नतिजाका लागि गर्नुपर्ने कार्यहरु लगायतलाई समावेश गरेर एकीकृत योजना ल्याउने बताउनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरो लगायतले पुर्‍याएकाे क्षति र नोक्सानीको एकिन विवरण र आर्थिक लागत निकाली पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरु अघि बढाउने तयारी भएको बैठकमा बताउनुभयो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, उर्जा, जलस्रोत तथा सिचाईँ, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोगका सचिव, सुरक्षा निकायका प्रमुखहरु लगायत सहभागी हुनुहुन्थ्यो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !