३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पहिराले घर पुरिँदा एकै परिवारका दुईको ज्यान गयो

प्रकाशित मिति :  १९ असार २०७८, शनिबार ०८:३३


गोरखा । गोरखामा पहिराले घर पुरिँदा एकै परिवारका दुईजनाको ज्यान गएको छ ।

सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा आज बिहान माथिबाट खसेको पहिराले ८० वर्षीय रमन पाण्डेको घर पुरिँदा पाण्डेसहित उहाँकी श्रीमती ७० वर्षीया नन्दकुमारी पाण्डेको ज्यान गएको प्रहरीले जनाएको छ ।

पहिराले पाण्डेको भूकम्पपछि पुनर्निर्माण गरिएको टिनले छाएको एकतले कच्ची घर पूर्णरुपमा पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । घटनालगत्तै स्थानीयवासीले उद्धारको प्रयास गरेको भए पनि करीब ४ घण्टापछि दुवैको शव पहिराबाट निकालिएको उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय जौबारीबाट गएको प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा शव निकालेको हो । सो घरमा पाण्डे दम्पती मात्रै बस्दै आएका थिए ।

युवकको उद्धार

उत्तरी गोरखाको आरुघाट गाउँपालिका–३, सोतीस्थित फुङगी खोलाले बगाएका एक पुरुषको आज उद्धार गरिएको छ । खोलाले बगाएका आरुघाट गाउँपालिका–१ श्यामचेतका २६ वर्षीय किरण लामालाई स्थानीयवासीले उद्धार गरेको प्रहरीले जनाएको छ ।

बिहान करीब ९ः३० बजे खोला तर्ने क्रममा एक्कासि खुट्टा चिप्लिएपछि खोलाले बगाएका लामालाई २० मिटरसम्म बगाएर बगरमा पुगेको थियो । घटनालगत्तै स्थानीयवासीले देखेपछि लामाको उद्धार गरिएको उहाँको भनाइ छ ।

अचेत अवस्थामा उद्धार गरिएका लामाको अहिले आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रनाउ दाहालले जानकारी दिनुभयो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !