३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माम्ती खोलामा पुल नहुँदा वर्षामा यातायात साधन अवरुद्ध

प्रकाशित मिति :  २२ असार २०७८, मंगलवार ०५:५८


काठमाडौं । काठमाडौंबाट पूर्व जाने सबैभन्दा छोटो बाटो बीपी मार्गमा वर्षा लागेसँगै बाढीको कारण सडक अवरुद्ध हुँदा यात्रीले हैरानी खेप्नु परेको छ ।

जापान सरकारको सहयोगमा निर्माण भएको दक्षिण एशियाकै नमुना सो राजमार्गमा ठाउँठाउँमा खोलामा पुल नहुँदा वर्षामा यातायात साधन अवरुद्ध हुने गर्दछन् । सो सडकमा सबैभन्दा बढी अवरोध माम्ती खोलाले गर्नेगर्दछ ।

माम्ती खोलामा आउने बाढी र खोलाकै छेउमा माथिबाट आउने लेदोले हरेक वर्ष यातायात साधन अवरुद्ध गर्ने गरेको छ । खोलाको भेलमा तर्न खोज्दा हरेक वर्ष मोटरसाइकल तथा साना गाडी खोलाले बगाउने गरेको छ ।

सो मार्गमा कतिपय कहिल्यै पानी नबग्ने खहरेमा पुल हालिएको छ । तर हिउँद वर्षा नै पानी बग्ने र हरेक वर्ष वर्षमा भेल आउने माम्ती खोलामा भने पुल राखिएको छैन । यसले गर्दा वर्षामा यो सडकबाट यात्रा गर्ने यात्रीले ठूलो जोखिम मोल्नु परेको छ । खोलामा बाढी आउँदा घण्टौँ रोकिएर बस्नु पर्ने समस्या यात्रीले भोग्नु परेको छ ।

पछिल्लो समय बीपी मार्गको माथिबाट खनिएका सडकको कारण पनि राजमार्गमा ठूलो क्षति र अवरोध भएको छ । पानी पर्ने वित्तिकै सडक खनेर थुपारिएको माटो बगी बीपी मार्गमा आएर थुप्रिँदा सडकको अधिकाँश भागमा लेदो जमेको छ । जसले गर्दा ठाउँठाउँमा सडक अवरुद्ध हुने गर्दछ ।

अरबौँको लगानीमा निर्माण भएको यो सडक संरक्षणमा ध्यान नजाँदा सडक क्षतविक्षत जस्तै भएको छ । कतिबेला सवारी साधन पुर्ने र बगाउने हो निश्चित छैन ।


0
Shares

प्रतिक्रिया दिनुहोस !