१४ माघ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभिड खोप लिन निगमको जहाज आज चीन जाँदै

प्रकाशित मिति :  २४ असार २०७८, बिहीबार ०२:२७


काठमाडाैं । सरकारले आजदेखि चीनबाट काेभिड विरुद्धकाे भेराेसेल खाेप ल्याउन प्रक्रिया थाल्दैछ ।

चिनियाँ सिनोफार्म कम्पनीसँग किनेकाे खाेप ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको जहाज आज चीन जाँदैछ । निगमकाे वाइडबडी  ए ३३० जहाज आज साँझ चीन जान लागेकाे हाे । साे जहाजले भाेलि नै नेपालमा खाेप ल्याउने कार्यतालिका छ ।

आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत काेभिड खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । असार ३१ गते वाइडबडी जहाज खोप लिन जानेछ र साउन १ गते खाेप ल्याउनेछ । साउन ७ गते पुनः वाइडबडी जहाज चीन गएर  साउन ८ गते नेपालमा खाेप ल्याउने छ ।

खोप आइसकेपछि ६० वर्षमुनि उमेर समूहलाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयले जनाएको छ ।

कोभ्याक्स सुविधामार्फत आउने खोप पनि छिट्टै ल्याउने तयारी भएकाे मन्त्रालयले जनाएको छ । यसअघि कोभ्याक्समार्फत ३ लाख ४८ हजार मात्र खोप आइसकेकाे छ । अनुदान र किनेकाे गरेर नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । मन्त्रालयकाे बुधबारसम्मकाे तथ्यांक अनुसार अहिलेसम्म ८ लाख ५१ हजार ३ सय जनालाई दाेस्राे डाेज र २६ लाख ११ हजार ८ सय ७  जनालाई पहिलो डाेज खाेप लगाइसकिएकाे छ ।

हाल देशका विभिन्न ठाउँमा चिनियाँ भेराेसेल खाेपकाे दाेस्राे डाेज लगाउने कार्यक्रम चलिरहेकाे छ । सरकारले सकेसम्म सबै जनतालाई चाँडै नै काेभिड खाेप लगाउने बताइरहेकाे छ । १८ वर्ष माथिका कुल २ करोड २० लाख नागरिकलाई खोप लगाउने सरकारकाे लक्ष्य छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !